नेपाल टपर अरुण क्षेत्री, क्याम्पसका प्रमुख सम्म
एसएलसीसम्म गाउँकै आदर्श माविमा पढेका डा.अरुणकुमार क्षेत्री आइएस्सी पढ्न पाल्पा झरे। अर्घाखाँचीको मालारानी गाउँपालिका खनदहमा उनले चार कक्षासम्म र सिद्धार्थ मावि हंसपुरबाट एसएलसी उत्तीर्ण गरे। ०४६ सालको जनआन्दोलन चलिरहेको थियो। दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनी आइएस्सी पढ्ने योजनासहित पाल्पा झरे। त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना भए। जनआन्दोलनको चपेटामा आइएस्सी भर्ना भएका क्षेत्रीले सोँचेअनुसार पढ्न भने पाएनन्। पाल्पा जिल्लाभरि हुने जनआन्दोलनका अनेक योजनाहरू उनी बस्ने कोठाबाट हुन्थ्यो। गाउँकै साथी कृष्ण खनाल र उनीसँगै कोठामा बस्थे। कपिलवस्तुबाट निर्वाचित हालका लुम्बिनी प्रदेश सांसद एवं पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थी पनि क्षेत्रीका पाल्पा पढ्दाका दौतरी थिए। बुवा आमाको चाहना छोराले राम्रोसँग पढे हुन्थ्यो भन्ने थियो। सिंगो पाल्पाको आन्दोलनको खाका कोठाबाट गर्दा अर्घाखाँचीबाट पढ्न झरेका क्षेत्री आन्दोलनको कमाण्डर हुन पुगे। र, चाहेअनुसार पढाइलाई अघि लैजान सकेनन्। २०४६ देखि ०४८ सम्म आइएस्सी त पढे तर उनी पास भएनन्। पढाइले सोँचेअनुसार गति नलिएपछि उनको मन बदलियो। अब पाल्पा बसेर पढाइ हुँदैन भन्ने मनमा लाग्यो। बुटवलमा आए। आइएड पढ्ने योजना बनाए। पाल्पामा आइएस्सी पढ्दाको उनको तीन वर्ष समय व्यर्थ बित्यो। २०४९ सालमा बुटवल बहुमुखी क्याम्पसमा भर्ना भए। मुख्य विषय अंग्रेजी र स्वास्थ्य लिएर पढेँ। जनआन्दोलन पनि सकियो। पाल्पामा जस्तो पढाइमा असर पु¥याउने बाहिरी गतिविधिमा व्यस्त हुनु परेन। एकमात्र ध्यान कसरी राम्रोसँग पढ्ने भन्ने मात्र भयो। आइएस्सीबाट सोच बदलेर आइएडमा भर्ना भएका क्षेत्रीको पढाइले सोँचेअनुसार लय लियो। आइएड पास भए। बीएड पढ्दै थिए। तीन महिना हुन लागेको थियो। बुटवल बहुमुखी क्याम्पसको पछाडिपट्टी कोठा भाडामा लिएर बस्थेँ। एक दिन क्याम्पस प्रमुख रामलाल श्रेष्ठ आएर उनलाई खबर सुनाएर भने, ‘अरुण तिमीले त आइएडमा नेपाल टपेछौं।’ क्याम्पस प्रमुखबाट पहिलोपटक आफैंले क्याम्पस टपेर नेपाल प्रथम हुँदाको खवर सुन्दा क्षेत्रीको मनमा खुसीको बहार छायो। आइएस्सीमा पाल्पामा राम्रोसँग पढ्न नपाएर भौतारिँदै बुटवल झरेका उनी खुसीले गदगद भए। तीन वर्ष व्यर्थ बिताएका क्षेत्रीले बुटवलको मात्र होइन, सिंगो देशकै नाम राखे। आफू मात्र होइन, आफूले पढेको बुटवल बहुमुखी क्याम्पसलाई नेपालभर चिनाए।

ऊ बेला अहिलेको जस्तो सूचना र प्रविधिको सहज पहुँच थिएन। नतिजा आएकै खवर सुन्न धेरै दिन कुर्नुपर्दथ्यो। नेपाल प्रथम भएको खवर पनि क्याम्पसले नेपाल चेम्बर अफ कमर्शबाट पाएको थियो। चेम्बर अफ कमर्शले काठमाडौंमा गर्न थालेको सम्मान कार्यक्रमका लागि क्षेत्रीलाई निमन्त्रणा गर्नुपर्ने भएपछि नेपाल प्रथम भएको खवर आएको थियो। क्षेत्रीलाई चेम्बरले काठमाडौंमा कार्यक्रम गरी सम्मान ग¥यो।
काठमाडौंको ब्लुस्टार होटलमा सम्मान कार्यक्रम र सोल्टी होटलमा खाना खुवाउने कार्यक्रममा क्षेत्री सरिक भए।
नेपाल प्रथम र सम्मान कार्यक्रमपछि क्षेत्रीलाई सिंगो क्याम्पस र विद्यार्थीले हेर्ने दृष्टिकोण बदलियो। क्याम्पसको विद्यार्थी नेपाल टप हुँदा धेरैले चासो राख्न थाले। धेरैको नजरमा परे। क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरूले पनि सम्मान गरे। क्षेत्रीको सफलताले विस्तारै उचाइ लिँदै गयो। त्यसबेला क्षेत्रीले नेपाल टपेका मात्रै थिएनन् भर्खरै विवाह पनि गरेका थिए। नेपाल प्रथम र नवविवाहित दुलही क्षेत्रीको परिवारमा सँगै खुसी लिएर घरमा भित्रिएका हुन्। उनका बुवा नरेन्द्रकुमार क्षेत्री गाउँकै विद्यालयका प्रधानाध्यापक थिए। ‘हेड सर’ को छोराले कस्तो पढ्दै छ ? भन्ने कुरामा सिंगो गाउँलेले समेत चासो दिन्थे। कतै पढाइ त बिगार्ने होइन भन्नेमा बुवाआमालाई पनि चिन्ता थियो। तर, अरुणले सबैको शान हुने गरी आइएडमा राम्रो सफलता हासिल गरेपछि सिंगो गाउँ पनि हौसियो। बुटवल बहुमुखीबाटै उनले स्नातक तहको पढाइ पूरा गरे। बीएड पढ्दा पढ्दै उनले लुम्बिनी बोर्डिङमा पढाउन थाले। पढ्दै पढाउँदै गर्दा उनको पहिलो जागिरे जीवन सुरु भयो। १ हजार ५ सय रुपैयाँ सुरुको तलब थियो। अंग्रेजी मुख्य विषय बनाएर काठमाडौंबाट स्नातकोत्तर तह (डिग्री) हासिल गरे। डिग्रीको उनी २०५६ देखि ०५८ को ब्याज हुन्। तर, डिग्री पढ्दा उनलाई स्वास्थ्यले त्यति साथ दिएन। अल्सरले थला परे। उपचारपछि निको भएर उनी डिग्री पढाउन भनेर आफैंले नेपाल टपेको क्याम्पस बुटवल बहुमुखीमा आए। बुटवल आउँदा डिग्रीको थेसिस पूरा भएको थिएन। त्यही बाहाना बनाएर क्याम्पसले पढाउन दिएन। राजनीति गर्न थाले। कुरा नमिलेपछि आफ्नै गृह जिल्ला अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा पढाउन गए। सुरुको तलब सात हजार पाँच सय थियो। उनी पाणिनीमा जानुपूर्व त्यहाँ विएडको पढाइ थिएन। क्षेत्रीको विशेष जोडबलमा बीएडको पनि कक्षा थपियो। पाणिनीमा पढाउँदा पढाउँदै जीवनसंगीनी सिकिस्त बिरामी परिन्। उपचारका लागि बुटवल झर्नुप¥यो। महिना दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएपछि क्षेत्रीको पाणिनीमा निरन्तर पढाउने सपनामा पनि ठेस लाग्यो। बुटवल हस्पिटलमा उपचार पछि श्रीमती निको भइन्। श्रीमतीको उपचार पूरा हुने र डिग्री पूरा भएको नतिजा पनि सँगै आयो। डिग्री पूरा भएपछि बुटवल बहुमुखीले एमएमा अंग्रेजी विषय पढाउन नियुक्त ग¥यो। प्राध्यापकको रूपमा ०५९ सालदेखि क्षेत्रीको बुटवल बहुमुखी क्याम्पसको जागिरे यात्रा सुरु भयो। ०५९ देखि ०६४ सालसम्म उनले आंशिक समय पढाए। प्रतिकक्षा त्यतिबेला १ सय २ रुपैयाँ बुझ्थे। क्षेत्री शिक्षा आयोग लडेर सरकारी जागिरे जीवन सुरुवात गर्न चाहान्थे। तर, लामो समय शिक्षा सेवा आयोगले जनशक्ति माग गरेन। उनकी बहिनी अमेरिकामा थिइन्। बहिनीको आग्रहपछि भिजिट भिसामा क्षेत्री अमेरिका गए। तीन महिना जति अमेरिकाको बसाईपछि उनी नेपाल फर्किए। ०६६ सालमा शिक्षा सेवा आयोग खुल्यो। ०६८ मा नतिजा आयो र खुला प्रतिस्पर्धाबाट उनी स्थायी जागिरे जीवन सुरु गरे। विभिन्न आरोह अवरोह पार गर्दै आंशिक, करार,अस्थायी र स्थायी गरी उनको बुटवल बहुमुखी क्याम्पसको यात्रा २३ वर्षमा निरन्तर चलिरहेको छ।
पढाइ यत्तिकैमा पूरा हुने कुरै भएन। क्षेत्रीले पीएचडी गर्ने सोच बनाए। ०७२ सालमा काठमाडौं गएका उनी ०७५ मा पीएचडी सकाएर बुटवल फर्किए। ०७५ देखि ०८१ माघसम्म उनी सबै संकायको मास्टर्स डिग्री ‘कोअर्डिनेटर’ भएर काम गरे। डिग्रीको सेमेष्टर प्रणालीलाई व्यवस्थित गर्ने काममा उनको सक्रिय भूमिका रह्यो।
विद्यार्थीकालदेखि जागिरे जीवनसँग अनेकन भोगाइहरू छिचोल्दै क्षेत्रीको उकालो यात्रामा कहिल्यै पूर्णविराम लागेन। आफ्नै स्वास्थ्य र पारिवारिक तनावका वीचमा पनि उनलाई सफलताले पच्छाइरह्यो। जो क्याम्पसबाट उनले नेपाल टपेर प्रथम भएका थिए, क्षेत्री अहिले उही क्याम्पसको प्रमुख पदमा कार्यरत छन्। ‘मेरिटोक्रेसी’ प्रणालीबाट आयोगमा प्रतिस्पर्धा गरी उनी २०८१ माघ २ गतेदेखि हाल क्याम्पस प्रमुखको जिम्मेवारीमा छन्। स्वर्गीय प्राध्यापक नुरजन केसीसहित डा.शखीचरण सुवेदी, डा.रामनाथ न्यौपाने र मेघराज आचार्य क्षेत्रीका प्रतिस्पर्धी थिए। क्षेत्री चार वर्षका लागि क्याम्पस प्रमुखको रुपमा नियुक्त भएका हुन्। यो क्याम्पस पश्चिम नेपालमा पोखराको पिएन क्याम्पसपछि दोस्रो ठूलो क्याम्पस हो। यहाँ हाल ९ हजार २ सय ७० जना विद्यार्थी अध्ययनरत छन्। विएएलएलवी, विविए, बीएस्सी, सीएसआइटी र बीआईसिटीइमा विद्यार्थीको धेरै आकर्षण छ। एलएलबी र पीजीडीई र विभिन्न १० विषयमा यहाँ स्नातकोत्तर तहको पढाइ भइरहेको छ। विहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा पढाइ हुन्छ। छिट्टै बीसीए र बीआइटीमा समेत पढाइ सञ्चालन गर्ने तयारी भइरहेको क्षेत्री सुनाउँछन्। क्याम्पसमा हाल प्राध्यापक र कर्मचारी गरी कुल २ सय ४३ जना जनशक्ति कार्यरत छन्। ४० वटा कक्षाकोठा छन्। साढे पाँच बिघा क्षेत्रलफल जग्गा क्याम्पसको नाममा छ। अन्य १० विगाह क्षेत्रफल नेपाल सरकारले ५० वर्षसम्म भोगचलन गर्न पाउने गरी नजिकैको सामुदायिक वनको जग्गा दिएको छ। प्रशस्त जग्गा छ तर लगानी गर्ने पैसा नभएर क्याम्पसले आवश्यकता अनुसार भौतिक संरचना निर्माण गर्न पाएको छैन। प्राध्यापकहरूका लागि आवासको अभाव छ। ज्योतीनगरको पहिरोले छात्राबासमा पूर्णरूपमा क्षति पु¥याएपछि त्यहाँ बस्नै मिल्दैन। ‘आफैंले पढेको क्याम्पसमा अहिले क्याम्पस प्रमुखको जिम्मेवारीमा हुँदा गौरवान्वित छु’, क्षेत्री सुनाउँछन्, ‘सफलता मेरो मात्र होइन, सिंगो क्याम्पसको पनि बनाउनु छ। भौतिक संरचनाको अभाव छ। पर्याप्त कक्षा कोठा छैनन्। फर्निचर छैनन्। सरकारी र अन्य निकायसँग बजेट माग गरेका छौं।’
भारतीय दूतावासमा क्याम्पसको विभिन्न क्षेत्रमा भौतिक संरचना निर्माणका लागि २० करोड रुपैयाँको योजना पेस गरेको क्षेत्रीले जानकारी दिए। दूतावासले सहयोग गरेपछि त्यसमा बुटवल उपमहानगरपालिकाले दुई करोड रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको क्षेत्रीले बताए। पहिरोले पुरिएको छात्राबास बनाउनेदेखि भवनको माथि ट्रस्ट निर्माण गर्न नेपाल सरकार, अर्थ मन्त्रालयमा रुपन्देहीका सांसद एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल मार्फत कम्तीमा पनि १५ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरिदिन फाइल पेश गरिएको क्षेत्रीले सुनाए। लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट माग गरी विभिन्न भौतिक संरचना निर्माणका लागि बजेट माग गरेको उनले बताए। क्याम्पसलाई ‘सेन्टर अफ एक्सेलेन्स’ का रूपमा विकास गर्न काम गर्ने क्षेत्रीको योजना छ। क्षेत्रीका एक छोरा र एक छोरी छन्।छोरी आशा क्षेत्री लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा स्टाफ नर्समा कार्यरत छिन् भने छोरा आन्नद अष्ट्रेलियामा इन्जिनियर पेसामा कार्यरत छन्। ५२ वर्षीय क्षेत्रीको जन्मघर मालारानी गाउँपालिका अर्घाखाँचीको वागीमा पर्छ।(श्रोत केशरराज क्षेत्री अनपुर्ण पोस्ट डटकम )।



