हावाहुरीका कारण नवलपरासी र कपिलवस्तुमा तिनजनाको ज्यान गयाे
शुक्रबार दिउसो अचानक चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा तिनजनाको ज्यान गएको छ। हावाहुरीले रुख र प्रतीक्षालय ढल्दा नवलपरासीको सुनवलमा दुईजना र कपिलवस्तुमा एकजनाको ज्यान गएको हो।
नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० बर्षिय मिरा बयम्बु र ४० बर्षिय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार चारपाला स्थित भित्री सडक खण्डमा हावाहुरीका कारण बाटोको साईडमा रहेको कंक्रिटको सिमेन्ट र रडबाट निर्मित प्रतिक्षालय माथी बर्रोको रुख ढलेर प्रतीक्षालय भत्किदा उक्त घटना भएको हो।
दिउसो सवा चार बजेतिर भएको उक्त घटनामा परि स्थानीय ४० बर्षिय नरमति परियार, ५१ बर्षिय दुर्गेश्वरा खाम्चा मगर २२ बर्षिय अनिल थापा घाइते भएका छन्। घाइते तिनैजनाको अवस्था सिरियस रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
घाइतेहरुको रुपन्देहीको भलुही स्थित देवदह मेडिकल कलेजमा उपचार भईरहेको छ।
यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा आँपको रुख ढलेर च्यापिदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार हावाहुरीका कारण आपको रुख ढलेर च्यापिदा स्थानीय १४ बर्षिय सुखना केवटको मृत्यु भएको हो। हावाहुरी चलेपछी भुइँमा झरेका आँप टिप्न गएकी सुखनाको सोही आपको रुख ढल्दा च्यापिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। उक्त घटनामा गम्भीर घाइते भएकी सुखनाको जिल्ला अस्पताल तौलिहवामा पुर्याएपछी चिकित्सकले मृत घोषणा गरेका थिए।
शुक्रबार दिउँसो लुम्बिनी प्रदेशका तराईका जिल्लामा ठुलो हावाहुरी र पानी परेको थियो। हावाहुरीका कारण अन्य क्षेत्रमा कहाँ कति क्षती भयो भन्ने बारे सूचना संकलन भईरहेको प्रहरीले जनाएको छ।



