NCDC संस्थाको आयोजना तथा रेडियो कञ्चनको समन्वयमा एक महिने उद्घोषण तालिम सम्पन्न
आषिका ज्ञवाली / कञ्चन / रुपन्देही
२०८२ असार ०२ सोमबार

रूपन्देहीको गैडहवा गाउँपालिमा सामुदायिक वन संरक्षण परियोजना अन्तर्गत सञ्चालित राष्ट्रिय संरक्षण तथा विकास केन्द्र गैडहवा शाखाको आयोजना तथा रूपन्देहीको कञ्चन गाउँपालिका वडा न. ३ हरैयामा सञ्चालित सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जको समन्वयमा भएको एक महिने उद्घोषण तालिम सोमबार सम्पन्न गरिएको छ ।
राष्ट्रिय संरक्षण तथा विकास केन्द्र गैडहवा शाखाका अधिकृत शालिनी खरेलको अध्यक्षता तथा सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जका अध्यक्ष शशिधर सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले व्यक्तित्व र नेतृत्व बिकासका लागि उद्घोषणकला तालिम आवश्यक रहेको बताउनु भयो । साथै तालिमले बोल्ने कलाको विकास गर्न सहयोग पुर्याउने बताउनुभयो । तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि असल उद्घाेषककाे रूपमा आफुलाई स्थापित गर्ने गरि अग्रसर हुन सहभागीहरूलाई आग्रह समेत गर्नु भयो। त्यसैगरी उहाँले यस सामुदायिक रेडियो कञ्चनमा काम गर्ने इच्छा भए सधैं नै संस्थाले स्वागत गर्ने बताउँनुभयो ।
साथै उद्घोषणकलाले जीवन सहज हुने बताउदै उद्घाेषण पनि एउटा कला हो । यसको सही सदुपयोग गर्न सक्यो भने राम्रो प्रगति गर्न सकिने उल्लेख गर्दै तालिमले कलाको विकासका साथै क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि थप सार्थक रहेको कुरामा जाेड दिनुभएको थियो ।
२०८२ बैशाख ३१ गते देखि २०८२ असार २ गते सम्म सञ्चालन भएको उद्घोषण तालिमको प्रमुख प्रशिक्षक सामुदायिक रेडियो कञ्चनका स्टेसन म्यानेजर गोविन्द आचार्य रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक आचार्यले तालिममा कार्यक्रम कसरी चलाउने, सञ्चालकमा हुनु पर्ने गुण, प्रष्ट वक्ता कसरी बन्ने, रेडियो कार्यक्रम कसरी गर्ने, म्याईनुट कसरी लेख्ने लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापनमा बोल्दै राष्ट्रिय संरक्षण तथा विकास केन्द्र गैडहवा शाखाका अधिकृत शालिनी खरेलले व्यक्तिको क्षमता विकास तथा कुशल उद्घोषक उत्पादन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । तालिमबाट सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायत कार्यक्रममा निर्धक्कका साथ आफना भनाई राख्न सक्ने जनशक्ति उत्पादन हुने विस्वास उहाँले व्यक्त गर्नुभएको थियो । साथै अधिकृत खरेलले यस सामुदायिक रेडियो कञ्चनसँग आगामी दिनमा समन्वय गरी यस्तै प्रकारका अन्य तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
तालिमका सहभागी लक्ष्मी हरिजनले तालिम लिएर हरेक क्षेत्रमा अघि बढ्न आत्मबिस्वास बढेको बताइन् ।
त्यसैगरी अन्य सहभागीहरु सन्तोष कुर्मी र सुमन वि.क लगायतले तालिमकाे अन्तिम दिन कार्यक्रममा उद्घोषण तालिम लिदाकाे आ आफ्नाे अनुभव सुनाएका थिए ।
तालिममा सहभागीहरुलाई कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय संरक्षण तथा विकास केन्द्र (NCDC) गैंडहवा गाउँपालिका शाखाका अधिकृत शालिनी खरेल र प्रमुख अतिथि सामुदायिक रेडियो कञ्चनका अध्यक्ष शशीधर सापकोटाले लगायतले प्रमाण-पत्र वितरण गर्नुभएको थियो ।
सामुदायिक रेडियो कञ्चनको सभाहलमा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी मिना कुर्मीले गरेकि थिईन ।



