खेमराज गौतम, बागलुङ
यहाँको आधारभूत अस्पतालमा डाइलाइसिस सेवा दिने तयारीका साथ उपकरण प्राप्त भएको छ । संघीय स्वास्थ्य मन्त्रालय मार्फत बागलुङको बडिगाड गाउँपालिकालाई रु. एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँच वटा डाइलाइसिस उपकरण प्राप्त भएको छ ।
साउन १ गतेबाट बडिगाड गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थालेको छ । पालिकामा एकसाथ पाँच जनाले उक्त डाइलाइसिस सेवा दिन सक्नेछ ।

जिल्ला अस्पतालबाट दिइरहेको डाइलाइसिस सेवा अब गाउँपालिकाबाट दिने तयारीकार साथ उपकरण अस्पतालमा आएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार गाउँपालिकाको आधारभूत अस्पतालमा डाइलाइसिस सेवा संभवत देशभरमै पहिलो भएको बताउनुभयो । बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाको बिरामीका लागि डाइलाइसिस सेवा सुरु गर्न उपकरण भित्राएको हो । बडिगाड गाउँपालिका –५ ग्वालीचौरमा हालै सम्पन्न रु. १८ करोड लागतको भवनमा १५ शैयाको अस्पताल निर्माण भएको थियो ।
साउन १ गतेबाट आधारभूत अस्पतालको सेवा थालिएको गाउँपालिकाले आगमी कात्तिक भित्रै डाइलाइसिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको पालिका अध्यक्ष थापा अधिकारीले जानकारी दिनुभयो । “पश्चिम बागलुङका मिगौला रोगीका लागि यो राज्यको ठूलो पहल हो, दुर्गमको गाउँपालिका स्तरमै पहिलो पटक डाइलाइसिस सेवा दिनका लागि स्वास्थ्य मन्त्रालयले उपकरण प्रदान गरेको छ” थापा अधिकारीले भन्नुभयो “बडिगाड गाउँपालिकाको अस्पताल भएपनि जिल्लाको गलकोट र ढोरपाटन नगरपालिकासहित तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुनेछन् ।” मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिकै रहेको अस्पतालले राजर्मागमा हुने दुर्घटनाका बिरामीलाई समेत सहजता प्रदान गर्ने छ ।
बागलुङको धौलागिरी अस्पतालमा मात्रै सो सुविधा रहेकामा बडिगाडमा पनि डाइलाइसिस सेवा सञ्चलन सम्बन्धी एक वर्ष अघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भए अनुसार अहिले उपकरण प्राप्त भएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डाइलाइसिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको हो ।
उपकरण आएपछि जनशक्तिको विषयमा थप तयारी भइरहेको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जनशक्ति पठाउने विषयमा अध्ययन गरिने बताएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पालिकाका एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिमा लागि पठाउने तयारी गाउँपालिकाको छ । बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका रुपमा समेत सुचिकृत गरेको छ । गण्डकी प्रदेशबाट थप एक मेडिकल अधिकृत तथा संघीय सरकारबाट दुई चिकित्सक र तीन स्टाफ नर्स सहितको उपकण दिने देशभरको ४८ सूचिमा समेत यस गाउँपालिकाको आधारभूत अस्पताल परेको छ ।
यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।



