बुटवल-तानसेन सडक खण्डमा आजदेखी २० गते सम्म अत्यावश्यक बाहेकका सवारी साधनमा रोकलगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाल्पा जिल्लामा असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले तीन दिनका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार वर्षासँगै पहिरोको जोखिम उच्च रहेकाले उक्त निर्णय गरिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका-३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका-५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा-गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।बैठकले असोज १८ देखि २० गतेसम्म लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै सम्भावित विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरूलाई पनि सचेत गराइएको छ ।



