रुपन्देहीमा पहिलो पटक विद्यालय स्तरीय खो–खो प्रतियोगिता सुरु
कञ्चन — गोविन्द आचार्य — २१ कार्तिक २०८२ — खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्य सहित जिल्ला खो–खो संघ रुपन्देहीको आयोजनामा पहिलो पटक रुपन्देही जिल्ला विद्यालयस्तरीय छात्र–छात्रा खो–खो खेल प्रतियोगिता २०८२ सुरु भएको छ।
प्रतियोगिता कञ्चन गाउँपालिका–३, धमिनातालमा सुरु भएको हो।उद्घाटन समारोहका प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र एकताको भावना विकास गर्ने भएकाले विद्यालयस्तरमै खेलप्रति रुचि जगाउन आवश्यक रहेको बताउनु भएको छ।
त्यसैगरी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले महिला विद्यार्थीको उत्साहपूर्ण सहभागिताले खेलकुद क्षेत्रमै लैङ्गिक समानताको सन्देश दिएको पनि उल्लेख गर्नुभयो। उपाध्यक्ष मगरका अनुसार खेलले केवल जित–हार होइन, सहभागिता, आत्मविश्वास र एकताको भावना सिकाउँने कुरा समेत राख्नु भयो ।
कार्यक्रममा कञ्चन गाँउपालिका वडा न ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले विद्यालयस्तरमै खेलकुदको अभ्यास सुरु गर्नु विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताउनुभयो।उहाँले स्थानीय स्तरमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र वडा–गाउँको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
साथै उहाँले वडा कार्यालयबाट पनि खेलकुद प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माले खेल र शिक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
उद्घाटन समारोहमा जिल्ला खो–खो संघ रुपन्देहीका अध्यक्ष राज कुमार थापाको अध्यक्षता, सदस्य मन कुमारी रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश खो–खो संघका अध्यक्ष तुल बहादुर थापाले कार्यक्रम माथी पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव गंगालाल पौडेलले गर्नुभएको थियो।प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ११ टिमको सहभागिता रहेको संघले जानकारी दिएको छ।
सो अवसरमा खो खो राष्ट्रिय रेफ्री यम ब. थापाले सम्पूर्ण रेफ्रीको प्रतिनिधित्व गर्दै खेलकुदको अनुशासन, निष्पक्षता र प्रतिस्पर्धाको भावना पालना गर्ने शपथ लिनुभयो ।
त्यसैगरी हरैया माध्यमिक बिधालयका छात्र बिबेक सुनारले सम्पूर्ण खेलाडीहरूको तर्फबाट अनुशासन, निष्पक्षता र उत्साहपूर्वक प्रतिस्पर्धा गर्ने शपथ लिनुभयो। प्रतियोगिता यहि कार्तिक २३ गते सम्म सञ्चालन हुने छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय प्रतिनिधि, खेलकुद संघका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।



