spot_img

नेकपा एमाले रूपन्देहीले बुटवलमा हजारौं कार्यकर्ता प्रदर्शन सहित जनसभा

देशभरका जिल्लामा जस्तै नेकपा एमाले रूपन्देहीले पनि बुटवलमा प्रदर्शन सहित जनसभा गरेको छ।

लोकतन्त्र र संविधानको रक्षा, संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन तथा जेन जी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर शनिबार बुटवलमा एमालेले प्रदर्शन सहित जनसभा गरेको हो।

बुटवल राजमार्ग चौराहाबाट सुरू गरिएको प्रदर्शन ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको हो। जनसभामा बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको भन्दै एमालेले त्यसलाई स्वीकार गर्न नसक्ने बताए।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको बताए।

एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए।

युवा संघका पूर्व उपाध्यक्ष राजु गुरुङले जेन जी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्ति लगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा एमाले र एमालेका नेता कार्यकर्तामाथि कसैले गिद्धे दृष्टि लगाएमा आफूहरू चुप लागेर नबस्ने र प्रतिकारमा उत्रिने चेतावनी दिए।

युवा संघका निवर्तमान महासचिव सुमन पुरीले एमालेले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताए।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे। कार्यक्रम जिल्ला कमिटी रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर