एक दिवसीय गाेष्ठी सम्पन्न
त्रिभुवन विश्वविद्यालयकाे भिजन २०३० अनुसार प्रशासनिक कार्यहरुलाई मितव्ययी, सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउन गठित संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिको आज २०८२ मंसिर १६ गतेका दिन बुटवल बहुमुखी क्याम्पसमा एक दिवसीय गाेष्ठीकाे आयोजना सम्पन्न भएको छ । कार्यक्रम समितिका संयोजक नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकाे प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी व्यवस्थापन सङ्काय केन्द्रिय विभागका प्रा.डा.भोजराज अर्याल, पूर्व प्रशासक सूर्यप्रसाद अधिकारी र त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्द थापा, समितिका सदस्य सचिव याेजना लम्साल हुनुहुन्थ्यो , कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख लक्की जाेशी, बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुण क्षत्री, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा. टंकप्रसाद पन्थ, महेन्द्र बहुमुखी क्याम्पस दाङका प्रमुख नारायण पन्थी, पक्लिहवा कृषि क्याम्पसका प्रमुख डा. जन्मेजय गैरे तथा सम्बन्धित क्याम्पसका लेखा प्रमुख र प्रशासन प्रमुखहरूको सहभागीत्ता रहेको थियोे ।
कार्यक्रमका अध्यक्ष तथा सर्वेक्षण समितिका अध्यक्ष पूर्व सचिव लक्ष्मण अर्यालले तपाईंलाई कहाँ दुखेको छ ? ढुक्कसँग बताउनुहाेस् भनी कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्नुभयाे । प्राध्यापक र कर्मचारीकाे कार्यक्षमतालाई सबल बनाउने कुरामा विश्वविद्यालयले चासो राखेको कुरा उहाँले प्रकाश पार्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले अझै पनि ७७ % विद्यार्थीकाे भार थेगेकाे हाम्रो विश्वविद्यालय विश्वकै ठुला विश्वविद्यालयमा पर्दछ । धेरै विद्यार्थीकाे गन्तव्य रहेको सन्दर्भमा समयानुकूल सुधार गर्नु आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो । प्रशासनिक तथा शैक्षिक संरचनागत सुधार, शिक्षणलाई प्रविधिमैत्री बनाउनुपर्ने समयको मागका साथै अनुसन्धान कर्मलाई शिक्षणसँग जाेड्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्रिभुवन धेरै कुरामा सुधार ल्याउनु आवश्यक छ, हामी विश्वविद्यालयकाे सुधारकाे चरणमा छाैँ, यहाँहरूले पनि आफ्नो क्षेत्रबाट सकारात्मक याेगदान पुर्याउनु आवश्यक छ भन्ने विचार राख्नुभयाे ।
सर्वेक्षण समितिका सदस्य प्रा. डा. भाेजराज अर्यालले छलफलका प्रमुख बुँदा र तिनको सन्दर्भलाई उठान गर्नुभयो । skill, speed र speak सिकाउनु शिक्षकको प्रमुख धर्म रहेको विचार व्यक्त गर्नुभयो ।
साे अवसरमा क्याम्पस प्रमुखहरू र प्रतिनिधि कर्मचारीहरूले क्याम्पसका विद्यमान अवस्था, भाेग्नुपरेका समस्या र अगाडिका सम्भावनाका बारेमा प्रकाश पार्ने काम गर्नुभयो ।
बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूलाई स्वागत गर्नुभयाे ।



