गार्गी एकेडेमीमा डान्स आइडल सम्पन्न, कक्षा ४ की सृष्टीलाई उपाधि
बुटवल । बुटवल उपमहानगरपालिका-११, देवीनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार डान्स आइडल-२०८२ सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोमा कक्षा ४ देखि ६ सम्मका ५८७ जना विद्यार्थी प्रतिस्पर्धामा सहभागी भएका थिए ।

विद्यार्थीहरु बीच भएको एकल नृत्य प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत सृष्टि विके प्रथम हुन सफल भइन भने कक्षा पाँचको लोटस ग्रुपमा अध्ययनरत सचिना खरेल द्वितीय र कक्षा ६ को लीली ग्रुपमा अध्ययनरत मुन तुलाचन तृतीय हुन सफल भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । विद्यालय अन्तरगत रहेको गार्गी बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा मंसिर ५ गतेदेखि छनोट चरण हुँदै उत्कृष्ट २० विद्यार्थीलाई फाइनल प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई क्रमशः ३ महिना, २ महिना र १ महिनाको शैक्षिक शुल्क छुट गरिनुका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरिएको प्राचार्य अधिकारीले जानकारी दिए ।
गार्गी बाल क्लबका अध्यक्ष अंशु क्षेत्रीको अध्यक्षता, सचिव आशुष अधिकारीको सञ्चालनमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले शैक्षिक बधाई तथा शुभकामना व्यक्त गरे । विद्यार्थीलाई पाठ्यपुस्तक र पाठ्यक्रममा रहेका विषय बाहेक उनीहरेको चौतर्फी बिकासका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य रहेको उल्लेख गरे । विद्यालयका सञ्चालक जीवन अधिकारीले बालबालिकालाई भविष्यको नेतृत्वकर्ताका रुपमा बिकास गर्नका लागि आजैदेखि लगानी आवश्यक रहेको बताए ।
प्रतियोगितामा अनु रज्जक र हिमाल थापा निर्णायकको भूमिकामा उपस्थित थिए भने छनोट चरणमा नृत्य प्रशिक्षक किशोर थापाले सहयोग गर्नुका साथै विद्यालयकी शिक्षिका निरू जिसीको प्राविधिक सहयोग रहेको थियो । गार्मी एकेडेमीमा हाल २ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन् ।



