बुटवलमा आजबाट १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको शुरुआत
निर्वाचनबाटै संकटको निकास : अर्थमन्त्री खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले देशको विद्यमान राजनीतिक–आर्थिक संकट समाधानका लागि निर्वाचनबाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका छन् । निर्वाचनको विकल्प खोज्नु देशलाई थप अनिश्चितता र दुर्घटनातर्फ धकेल्ने उनको भनाइ छ ।
रुपन्देही उद्योग संघद्वारा बुटवलमा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव २०८२ को उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक स्थिरताविना आर्थिक सुधार सम्भव नहुने बताए । निर्धारित समयमा निर्वाचन गरिनुपर्नेमा छिमेकी देशसहित धेरै पक्ष सकारात्मक रहेको उनले उल्लेख गरे ।
अर्थमन्त्री खनालले हाल लगानीको वातावरण बिस्तारै सुधार हुँदै गएको दाबी गरे । कम मूल्यवृद्धि, मुद्रा सञ्चिति वृद्धि र वित्तीय क्षेत्रमा पूँजी संकलन बढ्नु सकारात्मक संकेत भएको उनको भनाइ थियो । यद्यपि, अपेक्षित अनुपातमा लगानी विस्तार हुन नसकेको स्वीकार गर्दै सरकार–निजी क्षेत्र सहकार्यमा राहत कार्यक्रम अघि बढाइएको जानकारी दिए । यसैगरी अर्थमन्त्री खनालले संविधान संसोधन लगाएत परिमार्जन गर्ने बिषय निर्वाचन पछि आउने सरकारले गर्ने स्पष्ट पारे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले संघीय सरकार र स्थानीय तहबीच समन्वय कमजोर हुँदा विकास बजेट फिर्ता जाने अवस्था सिर्जना भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पौष ३ देखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ५ सय स्वदेशी उद्योगको सहभागिता रहने जानकारी दिए । करिब आठ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिएको बताउदै मेलामा बचेको केही रकम सामाजिक कार्यमा खर्च गर्ने स्पष्ट पार्दै सबै संघ संस्थालाई मेला सफल पार्न सहयोग गर्न आग्रह गरे।
यसै अवसरमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य सम्मानित भए । ४८ हजार १५५ रुपैयाँ राशीसहित सम्मानपत्र र दोसल्ला प्रदान गर्दै अर्थमन्त्री खनालले औद्योगिक पत्रकारिताको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा प्रदेश मन्त्री, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।



