सैनामैना–४ मा निःशुल्क आँखा शिविर तथा मोतिबिन्दु स्क्रिनिङ कार्यक्रम सम्पन्न
कृष्ण भण्डारी

सैनामैना नगरपालिका र रणअम्बिका आँखा अस्पताल भैरहवाको आयोजनामा सैनामैना नगरपालिका–४ मा निःशुल्क आँखा शिविर तथा मोतिबिन्दु स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। आँखासम्बन्धी समस्याबाट पीडित नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरमा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले नागरिकको स्वास्थ्य नै नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“आँखा जस्तो संवेदनशील अंगको उपचारमा आर्थिक अभावका कारण कसैले पनि दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले यस्ता निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा यस्ता सहकार्यलाई निरन्तरता दिनेछ।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै सैनामैना नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले वडामा पहिलोपटक यति व्यवस्थित रूपमा आँखा शिविर सञ्चालन भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।
“विशेषगरी ज्येष्ठ नागरिक र विपन्न वर्गका लागि मोतिबिन्दु जाँच तथा निःशुल्क अप्रेसनको सुविधा अत्यन्तै राहतको विषय हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तामबहादुर पुर्जाले यस्ता स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो।
त्यसैगरी नगर अस्पतालका प्रमुख जङ्गबहादुरले आँखा स्वास्थ्यलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्ने भएकाले नियमित जाँच गर्न सबै नागरिकलाई आग्रह गर्नुभयो।
शिविरमा आँखा परीक्षण, मोतिबिन्दु पहिचान तथा अप्रेसनका लागि बिरामी छनोट गरिएको थियो। छनोट भएका बिरामीहरूको रणअम्बिका आँखा अस्पताल भैरहवामा निःशुल्क अप्रेसन गरिने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।



