spot_img

कन्चन रुद्रपुर माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

श्री रुद्रपुर माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

गोविन्द आचार्य / २२ पौष २०८२ / कञ्चन गाउँपालिका

रुपन्देहीको कञ्चन गाउँपालिका ४ रुद्रपुरस्थित श्री रुद्रपुर माध्यमिक विद्यालयले आफ्नो ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माम कला गलामीको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यता एवं कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको विशिष्टआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार सधैं सहकार्य गर्न तयार रहेको बताउँदै अनुशासन, नैतिक शिक्षा र व्यवहारिक सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि कञ्चन गाउँपालिकाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै फरक प्रसंगमा बोल्दै अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान सरकार र स्थानीय निकायको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले जानकारी दिनुभयो कि कञ्चन गाउँपालिकामा रहेका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूको पहिचान गरेर कानुनी प्रक्रिया पूरा गर्दै स्थायी समाधानतर्फ अघि बढिरहेको छ।
अध्यक्ष ढकालले विशेष रूपमा उल्लेख गर्नुभयो कि भूमि आयोग पुनः सक्रिय भएसँगै बाँकी रहेका कामहरूलाई तीव्रता दिइनेछ र सुकुम्बासीहरूलाई लालपुर्जा वितरणको प्रक्रिया निरन्तर जारी रहनेछ। उहाँले भन्नुभयो, “कञ्चन वडा नम्बर ५ का केही जनताले लालपुर्जा पाइसकेका छन् भने अन्य वडाहरूमा पनि सुचना फाल्ने काम क्रमशः अगाडि बढ्दैछ। यसरी सबै योग्य नागरिकहरूले आफ्नो अधिकार पाउनेछन्।
अध्यक्ष ढकालले सबै सरोकारवालासँग मिलेर अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूको समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको मन्तव्यले स्थानीय तह र सरकारको सक्रिय भूमिका पारदर्शिता र निरन्तर प्रयासप्रति समुदायमा विश्वास बढाएको छ।

त्यसैगरी कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले सामुदायिक विद्यालयहरू नै समाजको मेरुदण्ड भएको बताउनुभयो। उहाँले विद्यालयमा शैक्षिक गुणस्तरसँगै नैतिक शिक्षा, अनुशासन र व्यवहारिक सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उपाध्यक्ष थापा मगरले अभिभावक, शिक्षक र स्थानीय सरकारबीचको सहकार्यबाट मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गर्दै कञ्चन गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक प्रगति, उपलब्धि, चुनौती र आगामी योजनाहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्वर्ण महोत्सव आर्थिक उपसमितिका संयोजक रुम बहादुर थापाले विद्यालयको स्वर्ण महोत्सव सफल बनाउन आर्थिक तथा नैतिक सहयोग पुर्‍याउने सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वर्ण महोत्सव आर्थिक उपसमितिका संयोजक रुम बहादुर थापा र उपसंयोजक गोपाल पौडेललाई सो अवसरमा सम्मान गरिएको थियो। त्यसैगरी, कार्यक्रममा एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक हरि प्रसाद थापा लगायतले विद्यालयको शैक्षिक योगदान र आगामी योजनाबारे धारणा राख्नुभएको थियो। साथै विद्यार्थी अन्जु बिकले विद्यार्थीको तर्फबाट आफ्नो अनुभव र अपेक्षा प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा शिक्षिका पवित्रा शर्माले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक जीवन गौतमले गर्नुभएको थियो। वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूको सम्मानसँगै अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको बिधालयले जनाएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर