spot_img

क्षेत्र न २ मा निर्वाचन परिचालन कमिटी सचिवालय उद्घाटन

नेकपा एमालेले रुपन्देहीमा आफ्नो चुनावी अभियान सुरु गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा उम्मेद्वारी दर्ता गरेका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेपछि एमालेले आफ्नो चुनावी अभियान थालेको हो ।

यसै क्रममा नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनलाई व्यवस्थित रुपमा अगाडि बढाउन निर्वाचन परिचालन समिति गठनसंँगै समितिको कार्यालय सञ्चालनमा ल्याएको छ ।

कार्यक्रमको  उद्घाटन एमालेका उम्मेद्वार विष्णुप्रसाद पौडेलले गर्नुभयो । सोही अवसरमा निर्वाचन परिचालन समिति घोषणा गरिएको थियो ।

 

बुटवल सुख्खानगरस्थित पार्टीको प्रदेश कार्यालय रहेको भवनमा आयोजित कार्यक्रममा पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो । एमालेले रुपन्देही क्षेत्र नं. २ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सहसंयोजकको जिम्मेवारी युवा नेता राजु गुरुङलाई दिइएको छ ।त्यसैगरी आर्थिक परिचालन समितिको संयोजकको जिम्मेवारी सो पार्टीका मुस्लिम कलस्टरको पहिलो नं. का समानुपातिक उम्मेद्वार उद्योगी एजाज आलमलाई दिइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विष्णु पौडेलले अब रुपन्देहीमा भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्रमुख प्राथमिकता रहने बताउनु भयो ।उहाँले रुपन्देहीको भौतिक विकास देशका लागि सिकाइको नमुना बनेको उल्लेख गर्दै अब नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने स्पष्ट पार्दै आफूलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर मत दिन अपिल गर्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठले बदलिएको परिस्थितिमा पार्टीले आफूलाई अझ जिम्मेवार बनाएर अगाडि बढ्ने बताउँदै रुपन्देहीलाई एमालेको किल्लाका रुपमा कायम गर्न सबै जिम्मेवार भएर लाग्न पार्टी सदस्यहरुलाई अनुरोध गर्नु भयो ।उहाँले रुपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैँ प्रतिबद्ध भएर लागेको स्मरण गराउँदै जनताको सुख–दुःखमा एमाले सधैँ साथमा रहेको भन्दै यस पटक पनि एमालेको पक्षमा मत दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार एजाज आलमले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई पार्टीले मुख्य एजेन्डा बनाउने बताउँदै रुपन्देहीको विकास र देशको समृद्धिका लागि एमालेका नेता पौडेललाई विजयी बनाएर एमालेको नेतृत्वको सरकार गठन गर्नु अपरिहार्य रहेको धारणा राख्नु भयो ।उहाँले विगतका कमीकमजोरीलाई सच्याएर सबैको एकतामा परिवार र पार्टी सदस्यलाई संगठित गरेर अगाडि बढ्न सके एमालेले निर्वाचनमा सहजै जित हासिल गर्ने दावी गर्नुभयो । कार्यक्रममा पार्टीका क्षेत्रीय अध्यक्ष ऋृषि पाण्डेले निर्वाचनमा सबै नेता–कार्यकर्तालाई एकढिक्का बनाएर परिचालन हुन आग्रह गर्दै पार्टीलाई विजयी गराउन संगठित रूपमा अभियानमा लाग्न निर्देशन दिनुभएको छ ।कार्यक्रम क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षता, सचिव मेघराज भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा क्षेत्र नं. २ का वडा समिति, टोल समितिका पदाधिकारी तथा जनवर्गीय शुभेच्छुक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर