सुरु भयो सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२
सैनामैना, माघ १२।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार पूर्ण रूपमा तल्लीन भएर लागेको बताउनुभएको छ। उहाँले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६, कलौनीमा सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन, कृषि र पर्यटन नै भएको उल्लेख गर्नुभयो।
स्थानीय उत्पादन बिना समृद्धि सम्भव छैन
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशको समृद्धिको सपना स्थानीय उत्पादन र उद्यमशीलताको विकासबिनाको कल्पना मात्र हो। हामीले आयातमा निर्भर अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानैपर्छ।”
उहाँले कृषक, साना तथा मझौला उद्यमी, घरेलु उद्योग र स्थानीय व्यवसायीलाई राज्यको नीतिले संरक्षण र प्रोत्साहन दिनुपर्ने धारणा राख्नुभयो।
स्थानीय उत्पादनका सामग्रीलाई बजारसँग जोड्ने, बजारीकरणको व्यवस्था मिलाउने र उद्यमशीलताको विकासमार्फत मात्रै समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो।
“मेला–महोत्सव मनोरञ्जनका लागि मात्र होइन, स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि हुनुपर्छ,” मुख्यमन्त्री आचार्यले जोड दिनुभयो।
मेला–महोत्सवमा स्थानीय उत्पादन अनिवार्य
मुख्यमन्त्री आचार्यले मेला–महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु नहुने बताउनुभयो।
“हामी आफ्नै उत्पादनलाई चिनाउन नसकेर बाहिरका सामग्रीले स्थान ओगटेको देख्छौं। अब यस्तो अवस्था अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले प्रदेश सरकारले उद्योगी–व्यवसायीको हितमा नीति, कानून र संरचना निर्माणमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।
उद्योगी–व्यवसायीको सुरक्षामा प्रदेश सरकार
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी तथा व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पार्दै भन्नुभयो,
“प्रदेश सरकार उद्योगी–व्यवसायीको रक्षा कवच बनेर उभिएको छ। लगानीको सुरक्षा, उत्पादनको प्रवद्र्धन र बजार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”
उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन विकास योजना अघि बढाइरहेको बताउनुभयो।
उद्योगी–व्यवसायीको सुरक्षामा प्रदेश सरकार
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी तथा व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पार्दै भन्नुभयो,
“प्रदेश सरकार उद्योगी–व्यवसायीको रक्षा कवच बनेर उभिएको छ। लगानीको सुरक्षा, उत्पादनको प्रवद्र्धन र बजार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”
उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन विकास योजना अघि बढाइरहेको बताउनुभयो।
पर्यटन, कृषि र स्थानीय बजार प्रवद्र्धनमा महोत्सवको भूमिका
उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता महोत्सवले स्थानीय बजार, पर्यटन र उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले सडक, पूर्वाधार, सिचाइ र पर्यटकीय संरचना विकासमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाइने धारणा राख्नुभयो।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले महोत्सवले सैनामैनाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताउनुभयो।
“सैनामैना केवल व्यापारको केन्द्र मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य र धार्मिक–सांस्कृतिक सम्भावनाले भरिएको नगर हो,” उहाँले भन्नुभयो।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उद्यम र उत्पादनलाई प्राथमिकता दिइए मात्र दिगो आर्थिक विकास सम्भव हुने बताउनुभयो।
एक लाख दर्शक, पाँच करोडको कारोबारको अपेक्षा
आयोजकका अनुसार माघ २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
महोत्सवमा कूल १ सय ३० वटा स्टल रहने प्रचार–प्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिनुभयो।
महोत्सवमा स्थानीय व्यापार, कृषि उत्पादन, घरेलु उद्योग, हस्तकला, खाद्य सामग्री, पर्यटनसम्बन्धी सामग्री तथा सेवा प्रदर्शनीमा राखिएको छ।
टिकट व्यवस्था र सामाजिक समावेशिता
महोत्सवको प्रवेश टिकट एक सय रुपैयाँ कायम गरिएको छ।
विद्यार्थीलाई परिचयपत्रको आधारमा छुटको व्यवस्था गरिएको छ भने जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
कृषि, शिक्षा र स्वास्थ्यमा चेतना फैलाउने प्रयास
महोत्सवले व्यापारसँगै कृषि प्रविधि, वैज्ञानिक खेती, पोषण, शिक्षा र स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमहरूलाई पनि प्राथमिकता दिएको छ।
कृषकलाई आधुनिक कृषि प्रविधि, जैविक खेती, पशुपालन र बजार व्यवस्थापनबारे जानकारी गराउने उद्देश्यले कृषि प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिएको छ।
विद्यालयस्तरीय विज्ञान प्रदर्शनी, स्वास्थ्य सचेतना कार्यक्रम तथा पोषणसम्बन्धी जानकारी दिने स्टलहरूले महोत्सवलाई शैक्षिक र सामाजिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।
सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवद्र्धन
संघका प्रथम उपाध्यक्ष तथा सांस्कृतिक संयोजक दिपेन्द्र ढकालले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, भजन, डान्सिङ आइडल, महिला–पुरुष जोडी नृत्य तथा विद्यालयस्तरीय लोकनृत्य समावेश गरिएको जानकारी दिनुभयो।
यसले लोक संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन टेवा पुग्ने उहाँको भनाइ छ।
महोत्सवको थप आकर्षणका रूपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनी, जलपरी र कलात्मक लण्डन ब्रिज निर्माण गरिएको छ, जसले दर्शकको ध्यान आकर्षित गरेको छ।
स्थानीय विकासको आधार महोत्सव
सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवले सैनामैनाको कृषि, व्यापार, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो।
उहाँले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।¥यालीसहित उद्घाटन
संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव भीमलाल सुवेदीले गर्नुभएको थियो।
उद्घाटनअघि सैनामैनाका विभिन्न स्थानबाट चेतनामूलक ¥याली आयोजना गरिएको थियो।




