spot_img

सैनामैना इन्ट्र्याक क्लब अफ सिद्धार्थद्वारा न्यानो कपडा वितरण

इन्ट्र्याक क्लब अफ सिद्धार्थद्वारा न्यानो कपडा वितरण

इन्ट्र्याक क्लब अफ सिद्धार्थका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यास प्रस्तुत गर्दै मानवीय सेवाको सुन्दर सन्देश प्रवाह गरेका छन्। क्लबमा आबद्ध सक्रिय विद्यार्थीहरूले आफ्नो दैनिक दिवा खाजाबाट बचत गरेको रकमलाई सदुपयोग गर्दै रोटरी क्लब अफ सैनामैनासँग समन्वय गरी सैनामैना नगरपालिका–५ बक्सडमा रहेको श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालयका मेहनती, जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर) वितरण गरेका हुन्।
चिसो मौसमका कारण विद्यालय आउन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक चेतना, सहकार्य र विद्यार्थीस्तरबाटै सम्भव हुने सेवाभावको उत्कृष्ट उदाहरण बनेको छ। सानो उमेरमै समाजप्रति उत्तरदायी बन्न सकिन्छ भन्ने सन्देश इन्ट्र्याक क्लब अफ सिद्धार्थका विद्यार्थीहरूले व्यवहारमै उतारेका छन्।
कार्यक्रम इन्ट्र्याक क्लब अफ सिद्धार्थकी अध्यक्ष एन्जल कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सैनामैना नगरपालिका–५ का वडा अध्यक्ष धन प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने रोटरी क्लब अफ सैनामैनाका वर्ष २०२५/०२६ का अध्यक्ष साथै श्री सिद्धार्थ मेमोरियल एकेडेमीका प्रधानाध्यापक भोजराज पौडेल विशिष्ट अतिथिको रूपमा सहभागी रहनुभएको थियो।
कार्यक्रममा इन्ट्र्याक क्लब अफ सिद्धार्थका को–अर्डिनेटर आर्यन घिमिरे, रोटरी क्लब अफ सैनामैनाका प्रतिनिधिहरू, श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेल, शिक्षक–शिक्षिकाहरू, विद्यार्थीहरू तथा इन्ट्र्याक क्लब अफ सिद्धार्थका सदस्य विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

इन्ट्र्याक क्लब अफ सिद्धार्थका विद्यार्थीहरूले आफ्नो दिवा खाजाबाट दैनिक रूपमा छुट्याइएको रकममध्ये केही प्रतिशत बचत गर्दै आएको र सोही बचतलाई सामाजिक कार्यमा प्रयोग गर्ने निर्णयअनुसार यो कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। आफूले प्रयोग गर्ने सानो रकम बचाएर अरूका लागि न्यानोपन बाँड्न सकिन्छ भन्ने सोचले विद्यार्थीहरूलाई सामाजिक सेवाप्रति अझ जिम्मेवार बनाएको देखिन्छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष धन प्रसाद पौडेलले इन्ट्र्याक क्लब अफ सिद्धार्थका विद्यार्थीहरूले सानो उमेरमै सामाजिक र मानवीय कार्यमा अग्रसरता देखाएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“आजका विद्यार्थीहरू भोलिका कर्णधार हुन्। यति सानो उमेरमै समाजप्रति उत्तरदायित्व बोध गरेर गरिएका यस्ता कार्यहरू साँच्चिकै उदाहरणीय छन्। यसले बालबालिकामा सहयोग, सहानुभूति र नेतृत्व क्षमताको विकास गर्छ।”
वडा अध्यक्ष पौडेलले क्लबले गरेका गतिविधिहरूको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले स्थानीय तह सधैं यस्ता सकारात्मक कार्यमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि रोटरी क्लब अफ सैनामैनाका वर्ष २०२५/०२६ का अध्यक्ष तथा श्री सिद्धार्थ मेमोरियल एकेडेमीका प्रधानाध्यापक भोजराज पौडेलले इन्ट्र्याक क्लब अफ सिद्धार्थले गर्दै आएका सम्पूर्ण सामाजिक तथा शैक्षिक गतिविधिहरूको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले आफू सधैं क्लबका गतिविधिमा नजिकबाट सहभागी हुँदै आएको उल्लेख गर्दै भन्नुभयो,
“बिहानीले दिउँसोको सङ्केत गर्छ, हुने बिरुवाको चिल्लो पात भनेझैं आज यी विद्यार्थीहरूले देखाएको सेवाभावले भोलि समाजका लागि कति जिम्मेवार नागरिक बन्छन् भन्ने स्पष्ट देखाउँछ।”
उहाँले इन्ट्र्याक क्लबले यसअघि मानव सेवा आश्रममा गरेको सेवा, विद्यालयमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासका लागि सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू र अहिले विद्यार्थीहरूले विद्यार्थीहरूलाई नै लक्षित गरेर गरेको सहयोग अत्यन्तै सराहनीय भएको बताउनुभयो।
विशिष्ट अतिथि पौडेलले सानैदेखि बालबालिकालाई माया गर्ने, उनीहरूको क्षमता चिनेर अघि बढ्न प्रेरित गर्ने आफ्नो सोच रहेको बताउँदै पहाडदेखि तराईसम्म विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा आफूले गर्दै आएका कार्यहरूको स्मरण गर्नुभयो। उहाँले शिक्षा, सेवा र संस्कार सँगै अघि बढे मात्रै समुन्नत समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले आगामी दिनहरूमा पनि इन्ट्र्याक क्लब अफ सिद्धार्थले गर्ने प्रत्येक कार्यक्रममा आफू व्यक्तिगत रूपमा मात्र नभई रोटरी क्लब अफ सैनामैना र सिद्धार्थ मेमोरियल एकेडेमीको तर्फबाट पनि साथ, सहयोग र सल्लाह निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवारको धन्यवाद
कार्यक्रममा श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले सैनामैना नगरपालिकामा थुप्रै विद्यालयहरू हुँदाहुँदै पनि इन्ट्र्याक क्लब अफ सिद्धार्थले आफ्नै विद्यालय छनोट गरी विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा विद्यालय परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न तयार रहेको बताउनुभयो।

 

कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सैनामैनाका वर्ष २०२५/०२६ का सदस्य तथा सिद्धार्थ मेमोरियल एकेडेमीका अतिरिक्त क्रियाकलाप संयोजक विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र गतिविधिबारे इन्ट्र्याक क्लब अफ सिद्धार्थका को–अर्डिनेटर आर्यन घिमिरेले जानकारी गराउनुभएको थियो।

 

न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाप्रतिको रुचि र चाहना झन् बढाएको देखिएको छ। सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ भन्ने अनुभूति गराउँदै यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। इन्ट्र्याक क्लब अफ सिद्धार्थले भविष्यमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यस कार्यक्रमले विद्यार्थी, विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर