spot_img

कन्चन १ जनज्योति माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

जनज्योति माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
कञ्चन–१, दानापुर | १७ माघ
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–१ दानापुरमा सञ्चालित जनज्योति माध्यमिक विद्यालयले आफ्नो ३८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिवारको निरन्तर साधना, अभिभावकको भरोसा र समुदायको सहकार्यको प्रतिफलस्वरूप आयोजित उक्त कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको औपचारिक समापन कञ्चन गाउँपालिका वडा नं. १ का वडा सदस्य लेखा राहादी मगरले गर्नुभएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै वडा सदस्य मगरले विद्यालय र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै वडा र गाउँपालिकाबाट प्राप्त हुन सक्ने सबैखाले सहयोगका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “समुदायबाट सञ्चालित विद्यालयहरू नै समाजको मेरुदण्ड हुन्। जनज्योति माध्यमिक विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धि, अनुशासन र व्यवस्थापनले यो विद्यालय कञ्चनमै मात्र होइन, जिल्लामै उदाहरणीय बनेको छ। विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई थप सुदृढ बनाउन वडा र गाउँपालिकाबाट आवश्यक सहयोग ल्याउन म व्यक्तिगत रूपमा पहल गर्नेछु।”
वडा सदस्य मगरले विद्यालयमा भौतिक संरचना विस्तार, खेलमैदान व्यवस्थापन, शिक्षण सिकाइमा प्रविधि भित्र्याउने, शिक्षक दरबन्दी व्यवस्थापन र विद्यार्थीमैत्री वातावरण निर्माणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै विद्यालयको समग्र विकासमा सबै सरोकारवालाको साझा उत्तरदायित्व रहेको धारणा राख्नुभयो।

विद्यालयको प्रगतिप्रति अतिथिहरूको एकमत प्रशंसा
कार्यक्रममा उपस्थित दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, कञ्चन–१ दानापुरका सचिव राजेन्द्र प्रसाद घर्तिले जनस्तरबाट स्थापना भई निरन्तर अघि बढिरहेको जनज्योति माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगतिले कञ्चनवासी मात्र नभई समग्र जिल्लालाई उत्साहित बनाएको बताउनुभयो। उहाँले विद्यालयले SEE र BLE परीक्षामा लगातार उत्कृष्ट नतिजा ल्याएर सामुदायिक विद्यालयप्रति जनविश्वास बढाउन सफल भएको उल्लेख गर्नुभयो।
यस्तै, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नर बहादुर थापाले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि भारतीय भूतपूर्व सैनिक, अभिभावक तथा सहयोगदाताबाट आर्थिक संकलन गरी विद्यालय बसको व्यवस्था गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “विद्यालय बस सञ्चालनमा आएपछि टाढाटाढाका विद्यार्थी र ससाना बालबालिकाको विद्यालय पहुँच सहज भएको छ। यसले विद्यार्थीको नियमितता, सुरक्षा र सिकाइमा सकारात्मक प्रभाव पारेको छ।”

 


थापाले विद्यालयले शैक्षिक मात्र होइन, खेलकुद, कला, संस्कृतिको विकास तथा अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय सफलता हासिल गर्नुमा शिक्षक र विद्यार्थीको मेहनतसँगै अभिभावक, शुभेच्छुक र सहयोगदाताको साथ र सहयोग निर्णायक रहेको स्पष्ट पार्नुभयो।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर भूजेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम बहादुर सुनार, विद्यालयका पूर्व शिक्षक रामप्रसाद पोख्रेल, शिक्षक पूजेन्द्र श्रीस लगायतले विद्यालयको निरन्तर प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रूपमा अझ सबल बनाउन सबै पक्षको साझा सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
उनीहरूले जनज्योति माध्यमिक विद्यालयलाई कञ्चनमै एक वर्ष SEE मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयका रूपमा स्थापित गराउन सफल भएको उल्लेख गर्दै यस उपलब्धिलाई निरन्तरता दिन सबैको भूमिका महत्वपूर्ण रहने बताए।
१२ कक्षा सञ्चालनको तयारी र प्रधानाध्यापकको प्रतिबद्धता
विद्यालयका प्रधानाध्यापक तिलकराम लोधले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र अवस्था, उपलब्धि र चुनौतीबारे जानकारी गराउनुभयो।
उहाँले भवन अभाव र पर्याप्त शिक्षक दरबन्दी नहुँदा केही कठिनाइ भए तापनि शिक्षकहरूको अथक मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावक तथा सहयोगदाताको अतुलनीय सहयोगका कारण विद्यालयले अपेक्षाभन्दा राम्रो नतिजा हासिल गर्न सफल भएको बताउनुभयो।
प्रधानाध्यापक लोधले आगामी दिनमा विद्यालयमा कक्षा १२ सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै यसका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था र निकायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई विद्यालयले पाठ्यसामग्रीदेखि अन्य आवश्यक व्यवस्थापनसम्म गर्दै आएको छ। विद्यार्थीको जन्मदिन विद्यालयमै मनाउने, खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने र समग्र व्यक्तित्व विकासमा जोड दिने हाम्रो अभ्यासले विद्यालयलाई फरक पहिचान दिएको छ।”
उत्कृष्ट विद्यार्थीलाई सम्मान, खेलकुदमा उत्साह
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जनिता कुमारी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्न सफल विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो।
त्यसैगरी विद्यालयभित्र आयोजना गरिएका आन्तरिक खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो, जसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, अनुशासन र आत्मविश्वास थप बढाएको देखिन्थ्यो।
सांस्कृतिक प्रस्तुतिले थपियो कार्यक्रमको रौनक
कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले प्रस्तुत गरेको नृत्य, सांस्कृतिक झाँकी र विभिन्न कला प्रस्तुतिले उपस्थित दर्शकको मन जितेको थियो। स्थानीय संस्कृति, मौलिकता र आधुनिकताको समिश्रण देखिने प्रस्तुतिहरूले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको सन्देश दिएको थियो।
स्थापना देखि उत्कृष्टतासम्मको यात्रा
वि.सं. २०४४ सालमा स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा अगुवाहरूको सक्रियतामा ‘मुट्ठी दान’ संकलन गरी पूर्व–प्राथमिक विद्यालयका रूपमा स्थापना भएको जनज्योति माध्यमिक विद्यालय आज माध्यमिक तहसम्मको शिक्षाको मजबुत केन्द्र बनेको छ।
विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) र आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) मा कञ्चन गाउँपालिकामै उत्कृष्ट नतिजा निकाल्दै सामुदायिक विद्यालयहरू पनि शैक्षिक गुणस्तरमा अब्बल हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
विद्यालयमा भौतिक संरचना, विद्यालय बस, खेलमैदान, अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री अभ्यास, जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग जस्ता पक्षले जनज्योति माध्यमिक विद्यालयलाई विशिष्ट बनाएको सहभागीहरूको भनाइ थियो।
स्वागत मन्तव्य र सञ्चालन
कार्यक्रमको अन्त्यतिर सहायक प्रधानाध्यापक थम्मन थापा मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि, अभिभावक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक ओम बहादुर तरामुले गर्नुभएको थियो।
शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यो संस्कार, अनुशासन र सामाजिक चेतनाको संगम हो भन्ने सन्देश बोकेको जनज्योति माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सवले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै भविष्यप्रति आशा र भरोसाको उज्यालो दीप प्रज्वलन गरेको अनुभूति गराएको थियो।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर