spot_img

तीन पालिका समेट्दै कञ्चनमा ‘कञ्चन क्रिकेट लिग’ सुरु हुँदै

तीन पालिका समेट्दै कञ्चनमा ‘कञ्चन क्रिकेट लिग’ सुरु हुँदै

मन्जु पाण्डे कञ्चन

स्थानीय स्तरको खेलकुद प्रवर्द्धन र युवाको क्षमताको पहिचान गर्ने उद्देश्यसहित कञ्चन गाउँपालिका–३, पर्तापुरमा रहेको शान्ति सिद्धार्थ युवा क्लबको आयोजनामा ‘कञ्चन क्रिकेट लिग’ सञ्चालन हुने भएको छ। लामो समयपछि कञ्चन क्षेत्रमा तीन वटा पालिका—कञ्चन, गैडहवा र सैनामैना—का क्रिकेट खेलाडीहरूलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउन लागिएको यो प्रतियोगितालाई स्थानीय खेलकुद इतिहासकै महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
आयोजक क्लबका अनुसार पछिल्लो समय स्थानीय तहमा खेलकुद गतिविधि ओझेलमा पर्दै गएको अवस्थामा क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत युवाहरूलाई सक्रिय, अनुशासित र सिर्जनशील बनाउने उद्देश्यले लिग सञ्चालन गर्न लागिएको हो। गाउँ–ठाउँमा पर्याप्त अवसर नपाएर ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान, प्रोत्साहन र सम्मान दिने लक्ष्य प्रतियोगिताको मूल आधार रहेको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष समीर ढकालले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक रुपान्तरणको प्रभावकारी माध्यम भएको बताए। उनले भने, “युवाहरूलाई कुलत, निराशा र असफलताबाट जोगाउँदै सकारात्मक दिशातर्फ उन्मुख गराउन खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। कञ्चन क्रिकेट लिग स्थानीय खेलाडीको क्षमता उजागर गर्ने अभियान हो।”
प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण क्रिकेट टिम तथा खेलाडीहरूले माघ २३ गतेसम्म आफ्नो टिम दर्ता गराउनुपर्नेछ। प्रतियोगिता माघ २५ गतेदेखि कञ्चन क्षेत्रभित्र रहेको धमिना ताल खेल मैदानमा सुरु हुने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर लगायतका विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। यसले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै भविष्यमा जिल्लास्तर, प्रदेशस्तर तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउने आत्मविश्वाससमेत विकास गर्ने विश्वास लिइएको छ।
स्थानीय स्तरमा यस प्रकारका बहुपालिकास्तरीय प्रतियोगिता सञ्चालन हुँदा सामाजिक सद्भाव, आपसी भाइचारा र सामुदायिक एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय सरकार, खेलप्रेमी, समाजसेवी तथा सरोकारवाला निकायको सहकार्यले प्रतियोगितालाई सफल बनाउने आयोजकको दाबी छ।
कञ्चन क्रिकेट लिगले स्थानीय खेलकुदको कमजोर संरचनालाई सबल बनाउँदै युवाहरूलाई खेलमैत्री वातावरणमा अगाडि बढाउने दीर्घकालीन आधार तयार गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर