spot_img

रुपन्देही कञ्चनमा क्रिकेटको महासंग्राम सुरु

रुपन्देही कञ्चनमा क्रिकेटको महासंग्राम सुरु
कञ्चन क्रिकेट लिग आजबाट धमाकेदार रूपमा शुरु — १४ टिमबीच उपाधिका लागि कडा प्रतिस्पर्धा
रुपन्देहीको कञ्चन गाउँपालिकामा आजदेखि ऐतिहासिक कञ्चन क्रिकेट लिग (KCL) प्रतियोगिता औपचारिक रूपमा शुरु भएको छ। शान्ति सिद्धार्थ युवा क्लब, कञ्चन–३ पार्तापुरको आयोजनामा पहिलो पटक सञ्चालन हुन लागेको यस प्रतियोगिताले स्थानीय क्रिकेट प्रेमीहरूमा नयाँ उत्साह थपेको छ। कञ्चन, गैडहवा र सैनामैना क्षेत्रका १४ वटा शक्तिशाली टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा जनाउने भएका छन्।
धमिनाताल खेल मैदानमा शुरु भएको प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार हरेक टिमले उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्ने मौका पाउनेछन्। प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ।
प्रतिस्पर्धामा रेन्वो एकेडेमी, शिवशक्ति युवा क्लब, सुनौलो शान्ति युवा क्लब, आशिष प्रिन्टिङ, लियो क्लब अफ कञ्चन, बुद्धचोक क्रिकेट क्लब, एस.एस.एस. युवा क्लब ‘ए’ र ‘बी’, आर.के. बरकट १७, एन.एस.के. सुपर किङ्स, गुलहरिया क्रिकेट क्लब, मलमला एब्रोड स्टडी, सुनौलो संगम युवा क्लब लगायत १४ टिमहरूको सहभागिता रहेको छ।
शान्ति सिद्धार्थ युवा क्लबका अध्यक्ष समिर ढकालका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई खेलप्रति आकर्षित गर्नु र क्रिकेट प्रतिभालाई उजागर गर्नु हो। “यो प्रतियोगिता केवल खेल मात्र होइन, कञ्चन क्षेत्रको खेलकुद भविष्य निर्माण गर्ने अभियान हो,” उहाँले बताउनुभयो।
रेन्वो एकेडेमीको प्रायोजनमा सञ्चालित प्रतियोगितामा विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
कञ्चन क्रिकेट लिग शुरु भएसँगै स्थानीय बासिन्दा, खेलप्रेमी र युवाहरूमा उत्साह छाएको छ। दैनिक रूपमा मैदानमा दर्शकको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार यसले कञ्चनलाई क्रिकेटको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर