spot_img

बुटवल स्टडी वर्ल्ड एजुकेसन कन्सल्टेन्सीको १८औँ वार्षिकोत्सव सम्पन्न, हजारौँ विद्यार्थीको भविष्य निर्माणमा निरन्तरता

स्टडी वर्ल्ड एजुकेसन कन्सल्टेन्सीको १८औँ वार्षिकोत्सव सम्पन्न, हजारौँ विद्यार्थीको भविष्य निर्माणमा निरन्तरता

बुटवल । रुपन्देहीको बुटवलस्थित स्टडी वर्ल्ड एजुकेसन कन्सल्टेन्सीले आफ्नो १८औँ वार्षिकोत्सव भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी, शैक्षिक व्यक्तित्व, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख देवबहादुर कुँवरले १८ वर्षअघि सुरु गरिएको सानो प्रयास आज हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने अभियानमा रूपान्तरण भएको बताए। अन्तर्राष्ट्रिय शिक्षामा इमानदार सेवा, विश्वसनीय परामर्श र समर्पित टिमवर्ककै कारण स्टडी वर्ल्डले बलियो पहिचान बनाउन सफल भएको उनले उल्लेख गरे।

“हामी विद्यार्थीलाई विश्वविद्यालयसम्म मात्र पुर्‍याउँदैनौँ, उनीहरूको जीवनमा अवसर र सफलताको नयाँ अध्याय सुरु गराउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,” कुँवरले भने। उनका अनुसार हाल स्टडी वर्ल्डले बुटवलसँगै काठमाडौं र बर्दघाट–परासीमा सेवा कार्यालय सञ्चालन गर्दै ३६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्मानित हुनु संस्थाको पारदर्शी र जिम्मेवार सेवाको प्रमाण भएको उनले बताए। “१८ वर्षको विश्वास, सफलता र निरन्तरताले नै आज हामीलाई यहाँसम्म ल्याएको हो,” भन्दै उनले सहयोगी, अभिभावक र विद्यार्थीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै मञ्जु थापाले विद्यार्थी र अभिभावकको सफलतामै संस्थाको सफलता निहित रहेको बताइन्। पारदर्शिता, गुणस्तरीय सेवा र जिम्मेवारीबोधका कारण स्टडी वर्ल्ड शिक्षा परामर्श क्षेत्रमा उदाहरणीय संस्थाका रूपमा स्थापित भएको उनको भनाइ थियो।

स्टडी वर्ल्डमार्फत अस्ट्रेलिया, बेलायत, अमेरिका, न्युजिल्यान्ड, क्यानडा तथा युरोपका विभिन्न देश—डेनमार्क, फ्रान्स, फिनल्यान्ड, आयरल्यान्ड र जापानमा अध्ययनका अवसर उपलब्ध गराइँदै आएको छ। साथै IELTS, PTE, Duolingo र SAT तयारी कक्षाहरू समेत सञ्चालन हुँदै आएका छन्।

व्यक्तिगत परामर्शदेखि विश्वविद्यालय छनोट र भिसा प्रक्रियासम्म जिम्मेवारीपूर्वक सेवा प्रदान गर्दै आएको कारण स्टडी वर्ल्ड बुटवल मात्र नभई देशकै उत्कृष्ट कन्सल्टेन्सीमध्ये एकका रूपमा चिनिएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले संस्था र विद्यार्थीबीचको सम्बन्ध व्यावसायिक सीमाभन्दा माथि उठेर विश्वास र मार्गदर्शनमा आधारित रहेको धारणा व्यक्त गरे।

 

१८ वर्षको यात्रामा हजारौँ विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा सफल बनाइसकेको स्टडी वर्ल्डले आगामी दिनमा अझ गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षा क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर