spot_img

कञ्चन गाउँपालिकाको एकमात्र विज्ञान विद्यालयमा ४५ दिने आत्मरक्षा तालिम सुरु

कञ्चन गाउँपालिकाको एकमात्र विज्ञान विद्यालयमा ४५ दिने आत्मरक्षा तालिम सुरु

गोविन्द आचार्य / रूपन्देही ०१ फागुन २०८२

रुपन्देहीको कञ्चन गाउँपालिका ५ गरगरे स्थित लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ४५ दिने आत्मरक्षा तालिम कार्यक्रम औपचारिक रूपमा उद्घाटन गरिएको छ। विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

कञ्चन गाउँपालिकाको एकमात्र विज्ञान विषयमा अध्ययन अध्यापन हुने यस विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आएको छ। बदलिँदो सामाजिक परिवेशमा विद्यार्थीहरू, विशेषगरी छात्राहरूलाई सुरक्षित र आत्मनिर्भर बनाउन आत्मरक्षा तालिम आवश्यक रहेको विद्यालय प्रशासनको भनाइ छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्य व्यक्त गर्दै उहाँले शिक्षाले केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई व्यवहारिक सीप पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले आत्मरक्षा तालिमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा सही निर्णय लिन सक्ने क्षमता विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको प्रारम्भमा सहायक प्रधानाध्यापक बालकृष्ण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिकता र सुरक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो। त्यसैगरी सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका शिक्षा अधिकृत भागिरथ अधिकारीले आत्मरक्षा तालिम आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर र सचेत नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्टले समाजमा बढ्दो असुरक्षाका घटनालाई मध्यनजर गर्दै आत्मरक्षा तालिम अत्यन्त सान्दर्भिक भएको बताउनुभयो। उहाँले विद्यालय तहबाटै यस्ता व्यवहारिक तालिम सञ्चालन हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

तालिममा सहभागी विद्यार्थीहरूले आत्मरक्षाका आधारभूत सिद्धान्त, सम्भावित जोखिमको पहिचान, मानसिक तयारी, शारीरिक अभ्यास तथा आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे प्रशिक्षण प्राप्त गर्नेछन्। विद्यालयका शिक्षक एकराज ज्ञवालीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा ३५ जना छात्रा, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो।

विद्यालयका अनुसार उक्त तालिम ४५ दिनसम्म नियमित रूपमा सञ्चालन हुनेछ। तालिम सम्पन्न भएपछि विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि, सुरक्षा सचेतना विस्तार तथा व्यवहारिक सीप विकास हुने अपेक्षा गरिएको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता सशक्तीकरणमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर