कञ्चन क्रिकेट लिगको उपाधि सुनौलोशान्तिलाई, फाइनलमा आर के बरकट १७ पराजित
रुपन्देहीको कञ्चनमा आयोजना गरिएको कञ्चन क्रिकेट लिग प्रतियोगिता सुनौलोशान्ति क्रिकेट टिमको शानदार जितसँगै सम्पन्न भएको छ। कञ्चन, गैडहवा र सैनामैनाका १४ टिम सहभागी रहेको प्रतियोगिताको फाइनल खेलमा आर के बरकट १७ लाई १८ रनले पराजित गर्दै सुनौलोशान्तिले उपाधि हात पारेको हो।


टस जितेर ब्याटिङ गरेको सुनौलोशान्तिले १५ ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो। ८९ रनको लक्ष्य पछ्याएको आर के बरकट १७ १२ ओभरमै ७० रनमा अलआउट भएपछि सुनौलोशान्तिको जित सुनिश्चित भयो।
फाइनल खेलमा ४ विकेट लिएका सुनौलोशान्तिका प्रविन कुर्मी म्यान अफ द म्याच घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी आर के बरकटका पशुपति यादव बने।
प्रतियोगिता शान्ति सिद्धार्थ युवा क्लब को आयोजनामा सम्पन्न भएको हो। पुरस्कार वितरण गर्दै कञ्चन गाउँपालिका का निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले स्थानीय क्लबहरूको खेलकुद विकासमा योगदान महत्वपूर्ण रहेको बताए। उनले सरकारी तहबाट पर्याप्त सहयोग नपाएको समेत स्वीकार गरे।
कार्यक्रममा युवा व्यवसायी जीवन क्षेत्रीले युवामा सही र गलत छुट्याउने चेतनाको विकास आवश्यक रहेको उल्लेख गरे। समापन समारोहमा प्रहरी निरीक्षक अनिश खड्का, खेल संयोजक बहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो।
विजेता सुनौलोशान्तिले नगद ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आर के बरकट १७ ले १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पायो।
प्रतियोगितालाई रेन्वो एकेडेमी ले प्रायोजन गरेको थियो भने खेलहरू धमिनाताल खेलमैदान मा सम्पन्न भएका थिए।










