spot_img

प्रदेशस्तरीय नमुना संसद कार्यक्रम सम्पन्न बुटवल ।

– महेश घिमिरे (केदार)
प्रदेशस्तरीय नमुना संसद कार्यक्रम सम्पन्न
बुटवल ।
नेपाल प्रगतिशील युवा सञ्जाल, रुपन्देहीको आयोजनामा दुईदिने प्रथम लुम्बिनी प्रदेशस्तरीय संघीय नमुना संसद अभ्यास कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो दिन नेपालको संसदीय पद्धति, कानुन निर्माण प्रक्रिया, संसदको अधिवेशन आह्वानदेखि अन्त्यसम्मका विषयमा प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो। साथै नमुना निर्वाचन पनि सम्पन्न भएको थियो। दोस्रो दिन भने वास्तविक संसदको झल्को दिने गरी नमुना संसद अभ्यास गरिएको आयोजकले जनाएको छ।
नमुना संसद सत्रपश्चात् संस्थाका अध्यक्ष आकाश ओलीको अध्यक्षतामा समापन सत्र आयोजना गरिएको थियो। समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता यमलाल खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नमुना संसद जस्ता कार्यक्रमले कानुनका विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासबीचको खाडल पूर्ति गर्ने बताउनुभयो। उहाँले वर्तमान अवस्थामा कानुनका विद्यार्थीहरू संविधान, विधिको शासन तथा लोकतन्त्रको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा अन्य अतिथिहरूका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल का निर्देशक अधिवक्ता बद्रीप्रसाद शर्मा गौतम, पीपीएलए रुपन्देहीका सचिव अधिवक्ता मेघनाथ खनाल, अनेरास्ववियु रुपन्देहीका सचिव सरोज खनाल, युवा अधिवक्ता नवीन खनाल तथा आरम्भ कानुन शिक्षा केन्द्र बुटवलका सञ्चालक सुनिल पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापकसमेत रहनुभएका पीपीएलए रुपन्देहीका सचिव मेघनाथ खनालले नेपाल प्रगतिशील युवा सञ्जालले देशभरका विभिन्न जिल्लाबाट आएका र विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जोड्ने सेतुको भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
देशका ३५ भन्दा बढी जिल्लाबाट आएका करिब ९० जना सहभागी रहेको कार्यक्रममा उत्कृष्ट वक्ताका रूपमा निर्जना थारु र लक्की पुन, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा अङ्किता पराजुली र खेमप्रसाद आचार्य तथा उत्कृष्ट नेतृत्वकर्ताका रूपमा तेजबहादुर बिक पुरस्कृत हुनुभएको थियो।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष आकाश ओलीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै देशका युवाहरू भिडको पछि होइन, सत्यको पक्षमा उभिएर देशलाई निकास दिन अग्रसर हुनुपर्ने समय आएको बताउनुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित बुढामगरको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव टोपजङ्ग बुढाथोकीले गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर