बन्दको हल्लाले रुपन्देहीमा त्रास, प्रशासन भन्छ—सबै सेवा नियमित सञ्चालन हुने
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भन्दै भोली मङ्गलबारका लागि आह्वान गरिएको बन्दको हल्लाले रुपन्देही जिल्ला का शैक्षिक संस्था, यातायात व्यवसायी तथा सर्वसाधारणलाई अन्योल र त्रासमा पारेको छ। सामाजिक सञ्जाल तथा केही अनौपचारिक सूचनामार्फत फैलिएको हल्लापछि कतिपय निजी तथा सामुदायिक विद्यालयहरूले अभिभावकलाई सूचना पठाउँदै भोली विद्यालय सञ्चालन नहुने जानकारी दिन थालेका छन्। यातायात व्यवसायीहरू पनि सम्भावित जोखिमको आँकलन गर्दै सेवा प्रभावित हुन सक्ने चिन्तामा देखिएका छन्।
तर यस विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देही ले स्पष्ट गर्दै कुनै पनि प्रकारको बन्द कार्यक्रम आधिकारिक रूपमा नभएको र भोली सबै सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। प्रशासनले बजार, पसल, विद्यालय, उद्योग–कलकारखाना तथा सार्वजनिक यातायात निर्वाध रूपमा चल्ने बताउँदै अफवाहमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सुरक्षा व्यवस्था पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए। उनले भने, “कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ। नागरिकहरू डराउनुपर्ने अवस्था छैन, आफ्नो दैनिक कामकाज सामान्य रूपमा गर्नुस्।”
बन्दको हल्ला फैलिनुको मुख्य कारण नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नाममा माघ २५ गते जारी गरिएको एक विज्ञप्ति पुनः सामाजिक सञ्जालमा भाइरल हुनु हो। उक्त विज्ञप्तिमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्दै बन्द आह्वान गरिएको उल्लेख थियो, जुन सोमबार दिउँसोदेखि एकाएक चर्चामा आएपछि सर्वसाधारण अन्योलमा परेका हुन्।
प्रशासनले अफवाह फैलाउनेहरू विरुद्ध कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै, कुनै पनि असहज अवस्था देखिए तुरुन्त प्रहरी वा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको छ। यसरी बन्दको हल्ला फैलिँदा जनजीवन प्रभावित भए पनि प्रशासनको स्पष्टतापछि रुपन्देहीमा अवस्था क्रमशः सामान्य बन्दै गएको देखिन्छ।



