भैरहवामा शंकास्पद वस्तु बियरको बोतलभित्र माटो–ढुङ्गा भरिएको भेटियो,
नेपाल बन्दका क्रममा भैरहवा को लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो। बिहानै स्थानीयवासी त्रसित बनेका थिए भने सुरक्षाका दृष्टिले सो सडक खण्डमा सवारी आवागमन तत्कालका लागि रोकिएको थियो।
सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएपछि घटनास्थलमा नेपाली सेना को टोली पुगेर शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको थियो। प्रारम्भिक जाँचका क्रममा बियरको बोतलभित्र माटो र साना ढुङ्गा राखिएको भेटिएको र सर्वसाधारणलाई डर देखाउने उद्देश्यले यस्तो काम गरिएको नेपाल प्रहरी ले जनाएको छ। कुनै विस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि अवस्था सामान्य बनेको थियो।
प्रहरीका अनुसार उक्त गतिविधि प्रतिनिधिसभा निर्वाचन बहिष्कारको आह्वान गर्दै नेकपा बहुमत ले गरेको नेपाल बन्दसँग जोडिएको देखिएको छ। बन्दको प्रभावका कारण रुपन्देही जिल्ला भरिका धेरै शैक्षिक संस्था बन्द रहेका छन् भने सार्वजनिक यातायात भने सन्चालनमा रहेका छन । केही स्थानमा बजार आंशिक रूपमा खुले पनि ग्राहकको चहलपहल न्यून देखिएको छ।
स्थानीय प्रशासनले शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिने बताउँदै अफवाहमा नपर्न नागरिकलाई आग्रह गरेको छ। शंकास्पद गतिविधि देखिए तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरिएको छ। घटनापछि क्षेत्रको निगरानी कडा पारिएको छ भने नियमित गस्तीसमेत बढाइएको प्रहरीले जनाएको छ।श्रोत अनलाइन खबर
भैरहवामा शंकास्पद वस्तु बियरको बोतलभित्र माटो–ढुङ्गा भरिएको भेटियो,
प्रतिक्रिया



