लुम्बिनी केबलकार लिमिटेड र भाटभटेनी सुपरमार्केट बुटवल बीच व्यवसायीक सम्झौता
लुम्बिनी प्रदेशको आर्थिक राजधानीको रुपमा परिचित रुपन्देहीको बुटवलमा मुख्य कारोवार केन्द्र रहेका दुई व्यवशायिक संस्था लुम्बिनी केबलकार लिमिटेड र भाटभटेनी सुपरमार्केट बुटवलका बीचमा व्यवसायीक सहकार्य सम्बन्धी सम्झौता भएको छ । व्यवसायीक सम्झौता बमोजिम भाटभटेनी सुपरमार्केटबाट रु १ हजार भन्दा बढीको सामान खरिद गर्ने ग्राहकले लुम्बिनी केबलकारको यात्राको क्रममा साधारण टिकटमा २० प्रतिशत छुट पाउने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

आज एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र भाटभटेनी सुपर मार्केट बुटवलको तर्फबाट म्यानेजर रोशनी अधिकारीले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।

लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकारको हो । यो युरोपेली प्रविधि अन्र्तगत अष्ट्रियाको विश्वविख्यात डोपलमायर कम्पनीबाट निर्मित केबलकार भएकोले प्रविधिमा अव्बल मानिन्छ । यो नेपालको दोस्रो लामो केबलकार हो भने यसको लम्बाई २ हजार ६ संय पन्द्र मिटर रहेको छ । लुम्बिनी केबलकारको दैनिक क्षमता ६ हजार भन्दा बढी यात्रुहरु दुईतर्फी यात्रा गराउन सक्ने भएको र यो केबलकार बिद्युतिय माध्यमबाट सञ्चालन हुने वातावरण मैत्री धुलो, धुवाँ , ध्वनी प्रदुषण रहित भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकारको बुटवल ३ गोलपार्कमा बटम स्टेशन र पाल्पा तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर डाडामा टप स्टेशन रहेको छ । बुटवलबाट १२ मिनेटको यात्राबाट बशन्तपुरमा पुग्न सकिन्छ । केबलकारको माथिल्लो स्टेशनमा नेपालको प्रख्यात शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ ।

केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाड हरियाली वन जंगल, उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखी दक्षीण तर्फ गौतमबुद्धको जन्मस्थल लुम्बिनीको साथै भारतको विभिन्न शहरहरुको दृश्यालोकन गर्न सकिन्छ । यस केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको आनन्दभूति प्राप्त गर्न सकिन्छ ।
जन्मदिनको दिन लुम्बिनी केबलकारको यात्रा निःशुल्क रहेको छ । यसै गरी ८० वर्ष माथिको उमेर समूहका नागरिक र ३ फिट सम्मका बालबालिकाको लागि केबलकार सेवा निशुल्क रहेको छ । फरक क्षमता भएका नागरिकहरु, र स्थानीयहरुलाई छुटको व्यवस्था छ भने ५० वा पचास भन्दा बढी विद्यार्थीहरु एकै पटकमा केबलकारको यात्रा गरेको अवस्थामा समेत विषेश छुटको व्यवस्था रहेको छ भने उक्त सेवा प्राप्त गर्नको लागि विद्यालयको आधिकारिक पत्रमा विद्यार्थीहरुको नाम हुनुपर्ने व्यवस्था रहेको छ ।
भाटभटेनी सुपरमार्केट नेपालकै प्रमुख सुपर मार्केटका रुपमा रहेको छ । नेपालभर भाटभटेनी सुपरमार्केटको वार्षिक कारोवार ३५ अर्व रुपैया भन्दा बढी रहेको छ भने नेपाल भरका २७ शाखाबाट कारोवार हुने गरेको छ ।



