रुपन्देही जिल्ला क्षेत्र नम्बर ५ मा मोहम्मद वकिल मुसलमान को चुनावी अभियान तीव्र, जनतासँग प्रत्यक्ष संवाद
रुपन्देही जिल्ला क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यसैबीच प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद वकिल मुसलमान ले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाउनु भएको छ। घरदैलो कार्यक्रम, कोणसभा तथा टोल–टोलमा प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै उहाँ यतिबेला मतदातासँग नजिकिन व्यस्त हुनुहुन्छ।
हालै उहाँले कन्चन गाउँपालिका वडा नम्बर २ गजेडी, वडा नम्बर १ बेलभरिया तथा हातिबजार क्षेत्रमा आयोजित कार्यक्रमहरूमा सम्बोधन गर्दै आफूलाई विजयी गराए जनताको हरेक समस्या समाधान गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो चुनाव केवल व्यक्ति जित्ने होइन, क्षेत्रको भविष्य बनाउने अभियान हो। तपाईंहरूको मतले विकासको ढोका खोल्नेछ।”
गजेडी, बेलभरिया र हातिबजारमा आयोजित सभाहरूमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। विभिन्न समुदायका अगुवा, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूले उहाँप्रति विश्वास व्यक्त गर्दै साथ र समर्थन जनाएका छन्। कार्यक्रममा बोल्दै उहाँले सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ, खानेपानी र रोजगारीका विषयलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभयो। विशेष गरी किसानका समस्या, युवाको वैदेशिक पलायन र आधारभूत पूर्वाधार अभावलाई समाधान गर्ने ठोस योजना रहेको उहाँको दाबी थियो।
निर्वाचन परिचालन संयोजक हिरा बहादुर रोका ले अभियानबारे बताउँदै भन्नुभयो, “हाम्रो अभियान पूर्ण रूपमा जनताकेन्द्रित छ। प्रत्येक टोलमा पुगेर समस्या सुन्ने र समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने काम भइरहेको छ। मतदाताको उत्साह र विश्वासले हामी थप ऊर्जावान भएका छौं। क्षेत्र नम्बर ५ मा सकारात्मक माहोल देखिएको छ र विजय सुनिश्चित हुनेमा हामी ढुक्क छौं।”
उहाँले विगतमा निर्वाह गर्नुभएको जिम्मेवारी र अनुभवले यस क्षेत्रको समग्र विकासका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो। “जनताको समस्या बुझेर समाधान खोज्ने प्रतिनिधि आवश्यक छ,” भन्दै उहाँले आफू सदैव जनताकै बीचमा रहने प्रतिबद्धता जनाउनुभयो।
चुनावी अभियानका क्रममा उहाँको टोलीले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। प्रत्येक घरमा पुगेर मतदाताका गुनासा सुन्ने, सुझाव संकलन गर्ने र आफ्नो योजनाबारे जानकारी गराउने काम भइरहेको छ। यसले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको स्थानीयको भनाइ छ।
प्रचारप्रसार संयोजक रोमनाथ न्यौपाने ले भन्नुभयो, “हामीले सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म सबै माध्यम प्रभावकारी रूपमा प्रयोग गरेका छौं। युवादेखि ज्येष्ठ नागरिकसम्म सबै वर्गसँग निरन्तर संवाद भइरहेको छ। उम्मेदवारप्रति बढ्दो समर्थनले अभियानमा थप ऊर्जा थपिएको छ। विकास र समृद्धिको स्पष्ट एजेण्डाका कारण जनताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।”
क्षेत्र नम्बर ५ मा उहाँको पक्षमा सकारात्मक माहोल बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्। विकासप्रेमी, सरल र सहज नेताका रूपमा पहिचान बनाएका उहाँप्रति युवावर्गको आकर्षण उल्लेख्य देखिन्छ। महिलाहरूले पनि सामाजिक सद्भाव र समावेशीताको मुद्दालाई उठाउँदै उहाँलाई समर्थन गर्ने बताएका छन्।
अन्त्यमा, उहाँले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गरी विकास र समृद्धिको पक्षमा उभिन आह्वान गर्नुभएको छ। चुनावी सरगर्मी बढ्दै जाँदा मोहम्मद वकिल मुसलमान को सक्रियता र जनसमर्थनले क्षेत्र नम्बर ५ को राजनीतिक समीकरण थप रोचक बन्दै गएको छ।





