spot_img

रुपन्देहीमा कुलमान घिसिङले मागे जनता संग भोट

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई सरकार गठन गर्ने जनादेश प्राप्त भए अरूले दशकौँसम्म गर्न नसकेको काम एक वर्षभित्रै गरेर देखाउने दाबी गरेका छन् ।

भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशको शासन सञ्चालन, प्रशासन व्यवस्थापन तथा विकासको स्पष्ट दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताए । उनले देशलाई समृद्धि र विकासको दिशामा अघि बढाउन उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।उनले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक, राजनीतिक तथा नेतृत्व क्षमतासहितको टोली आफ्नो पार्टीसँग रहेको उल्लेख गर्दै अब मतदाताले नयाँ विकल्प रोज्ने समय आएको बताए । “हामीसँग ब्यूरोक्रेसी, राजनीति, मन्त्रालय र प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने क्षमता छ,” उनले भने, “अहिलेसम्म धेरै नेता र पार्टीलाई मतदान गरिसक्नुभएको छ, अब देशको भविष्य सुनिश्चित गर्ने नेतृत्व छान्ने समय आएको छ ।”

घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि देशभरको लोडसेडिङ अन्त्य गरेको अनुभव स्मरण गर्दै अब देशका अन्य क्षेत्रमा रहेका समस्याको अँध्यारो हटाउने लक्ष्यका साथ उज्यालो नेपाल पार्टी अघि बढेको बताए । उनले गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार गर्दै देशलाई समृद्ध बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।कार्यक्रमका क्रममा उनले पार्टीलाई सशक्त नेतृत्वमा पुर्‍याउन सबै उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका थिए ।

सो अवसरमा घिसिङ रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेको घरदैलो कार्यक्रममा समेत सहभागी भएका थिए । उनले बुटवलका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका योजना र उद्देश्यबारे जानकारी गराएका थिए ।उज्यालो नेपाल पार्टीले सुशासन, ऊर्जा विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक समृद्धिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेको जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर