सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधनसर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
महतो जिल्ला रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । उनी जिल्ला सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए ।उनको निधनबारे प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।घटना भएको उक्त जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्व दिशामा पर्दछ। मृत्युको कारणबारे विस्तृत जानकारी नआइसकेको र चिकित्सकहरूले पोस्टमार्टमपछि मात्र मृत्युको यकिन कारण खुल्ने बताएका छन् । शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको र परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।



