खिमलाल भट्टराईको सन्देश: मतदाता र कार्यकर्तालाई धन्यवाद, तौफिक खानलाई शुभकामना
रुपन्देही–५ का उम्मेदवार खिमलाल भट्टराई ले हालै सम्पन्न निर्वाचनपछि मतदाता, कार्यकर्ता तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचनको क्रममा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता, पत्रकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्पूर्ण शुभचिन्तकप्रति विशेष आभार प्रकट गर्नुभएको हो।
भट्टराईले लोकतान्त्रिक प्रक्रियामा सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै निर्वाचनलाई सभ्य र मर्यादित बनाउन योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद दिनुभएको छ। साथै, उहाँले आफ्नो पार्टीबाट निर्वाचनका क्रममा प्रयोग गरिएका प्रचार सामग्रीहरू हटाउन निर्देशन पनि दिनुभएको छ।
उहाँका अनुसार उम्मेदवारको फोटोसहितका बोर्ड, पोस्टर, चुनाव चिन्ह अंकित झण्डा लगायत सम्पूर्ण प्रचार सामग्रीहरू सार्वजनिक स्थल र प्रचार कार्यालयहरूबाट हटाएर सरसफाइ गर्न आग्रह गरिएको छ। “सरसफाइ गरौं, आफ्नो ठाउँ आफैं सफा र स्वच्छ राखौं,” भन्दै उहाँले सबैलाई वातावरण स्वच्छ राख्न अपिल गर्नुभयो।
यसै क्रममा भट्टराईले रुपन्देही–५ बाट विजयी भएका तौफिक अहमद खान (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ। उहाँले क्षेत्रको समग्र विकासका लागि आगामी दिनमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भट्टराईले जनताले दिएको माया, विश्वास र समर्थनलाई सधैं उच्च प्राथमिकतामा राख्ने बताउँदै राजनीति जनताको सेवा गर्ने माध्यम भएको उल्लेख गर्नुभयो। निर्वाचनको परिणाम जस्तोसुकै भए पनि जनताको हित र क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहने उहाँको भनाइ छ।




