जनताको मन जित्ने नेता: केशव भट्टराई सबैका रोजाइ
रुपन्देही–५ का उज्यालो नेपाल पार्टीका उम्मेदवार केशव भट्टराईले चुनावी परिणाम जे आए पनि जनताको माया र विश्वासलाई आफ्नो सबैभन्दा ठूलो जित ठानेका छन्। उनले रुपन्देहीवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै आफू यही माटोमा जन्मिएको छोरा, भाइ र साथी भएकाले सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भट्टराईले चुनावमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको मन जित्नु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए। “यदि म जित्न सकिन भने पनि तपाईंहरूले दिनुभएको माया र साथ मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनेछ,” उनले भने।
स्थानीयस्तरमा मिलनसार, हँसिलो मुहार र सबैसँग सजिलै घुलमिल हुने स्वभावका कारण केशव भट्टराई बालबालिका, युवा र बृद्ध सबैका रोजाइको नेताका रूपमा परिचित छन्। इमानदार, लगनशील र सरल जीवनशैली भएका उनी समुदायमा सबैसँग समान व्यवहार गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। यही कारणले धेरै स्थानीयले उनलाई भरोसायोग्य र आशा जगाउने युवा नेताका रूपमा हेर्ने गरेका छन्।
उनले चुनावी अभियानका क्रममा प्राप्त जनसमर्थन र माया प्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि रुपन्देहीको विकास, जनताको समस्या समाधान र समाजसेवामा निरन्तर सक्रिय रहने बताए। साथै, उनले आफ्नो चुनावी खर्चसमेत पारदर्शी रूपमा सार्वजनिक गरिसकेको उल्लेख गर्दै स्वच्छ र जिम्मेवार राजनीति गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
“म सधैं रुपन्देही र यहाँका जनताका लागि उपलब्ध रहनेछु। तपाईंहरूको सुख–दुःखमा साथ दिनेछु र हाम्रो क्षेत्रको समृद्धिका लागि निरन्तर काम गरिरहनेछु,” उनले भने।
भट्टराईको यही सरलता, इमानदारी र जनतासँगको नजिकको सम्बन्धले उनलाई रुपन्देहीका धेरै नागरिकको मनमा बस्न सफल नेता बनाएको छ।
जनताको मन जित्ने नेता: केशव भट्टराई सबैका रोजाइ
प्रतिक्रिया



