spot_img

बुटवल हस्पिटलमा पहिलो पटक हातसम्बन्धी जटिल समस्याको विशेषज्ञ सेवा सुरु

बुटवलमै पहिलो पटक हातसम्बन्धी जटिल समस्याको विशेषज्ञ सेवा सुरु
बुटवल। पश्चिम नेपालका बिरामीहरूलाई लक्षित गर्दै हाडजोर्नी तथा हेन्ड सर्जन डा. बिकास न्यौपानेले बुटवलमै हातसम्बन्धी जटिल रोगको विशेषज्ञ उपचार सेवा सुरु गरेका छन्। लामो समय विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थामा सेवा दिँदै अनुभव बटुलेका डा. न्यौपाने अहिले बुटवल हस्पिटल प्रा.लि. मार्फत बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गरिरहेका छन्।


डा. न्यौपानेले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पाल्पाको युनाइटेड मिसन अस्पतालजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थामा कार्य गर्दै हाडजोर्नी तथा हातसम्बन्धी उपचारमा महत्वपूर्ण अनुभव हासिल गरेका छन्। यसका साथै उनले भारतमा हेन्ड सर्जरीसम्बन्धी विशेष फेलोसिप अध्ययन पनि पूरा गरेका छन्। उक्त अध्ययनपछि नेपाल फर्केर पश्चिम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय सेवा दिने उद्देश्यले उनले बुटवलबाट विशेषज्ञ सेवा सुरु गरेका हुन्।
हातसम्बन्धी जटिल समस्याको उपचारका लागि यसअघि बिरामीहरूलाई काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता रहेको थियो। तर अब बुटवलमै यस्तो विशेषज्ञ सेवा उपलब्ध भएपछि रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत पश्चिम क्षेत्रका नागरिकलाई धेरै सहज हुने अपेक्षा गरिएको छ।
डा. न्यौपानेका अनुसार हातसम्बन्धी विभिन्न प्रकारका रोग तथा समस्याको आधुनिक प्रविधिबाट उपचार गरिनेछ। हात भाँचिएको, हातका नसाहरू चुडिएको, औंलाहरू जोडिएर पूर्ण रूपमा नचल्ने भएको, हात झमझम गर्ने, सिल्का हान्ने, काम गर्दा अत्यधिक दुख्ने, छिट्टै थाक्ने तथा पाट्टिने जस्ता समस्या भएका बिरामीले विशेषज्ञ उपचार पाउनेछन्।
त्यस्तै घाँटीको पछाडिबाट हातसम्म दुखाइ सर्ने, हात गल्ने, जन्मजात औंला नभएको, औंलाहरू धेरै भएको, औंला छोटो वा बाङ्गो भएर राम्रोसँग काम नगर्ने, कुहिनो नचल्ने वा बाङ्गो भएको, काँधसम्बन्धी समस्या, प्यारालाइसिस भएर हात नचल्ने लगायतका जटिल अवस्थाको पनि उपचार गरिने उनले बताए।
यसका अतिरिक्त विभिन्न चोटपटक, दुर्घटना वा डढेर हात बिग्रिएको, खुम्चिएको वा नसामा असर पुगेको अवस्थामा पनि सल्यक्रियासहित उपचार उपलब्ध गराइने डा. न्यौपानेले जानकारी दिएका छन्। हातको जोर्नी च्यापिएको, नङ नपलाउने, औंला, नाडी, कुहिनो वा काँध नचल्ने तथा दुख्ने जस्ता समस्याको पनि परीक्षण र उपचार गरिनेछ।
डा. न्यौपानेका अनुसार आधुनिक प्रविधिको प्रयोग गरी ‘दुरपिन’ (एन्डोस्कोपी/आर्थ्रोस्कोपी) बाट परीक्षण गरेर समस्याको पहिचान गरी उपचार गरिने व्यवस्था गरिएको छ। यसले सानो चिरफारबाटै उपचार सम्भव हुने भएकाले बिरामीलाई कम पीडा हुने र छिटो निको हुने विश्वास गरिएको छ।
पश्चिम क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको डा. न्यौपानेले बताए। उनले हातसम्बन्धी कुनै पनि समस्या देखिएमा ढिलाइ नगरी विशेषज्ञसँग परामर्श लिन आग्रह गरेका छन्।
हात नचल्ने, झमझम हुने, नसामा समस्या देखिने, हात भाँचिएको, जलेर बिग्रिएको वा अन्य कुनै पनि प्रकारको हातसम्बन्धी समस्या भएमा बुटवल हस्पिटल प्रा.लि.मा सम्पर्क गरी आवश्यक सल्लाह तथा उपचार लिन सकिने डा. न्यौपानेले जानकारी दिएका छन्।
बुटवलमै पहिलो पटक सुरु भएको यस्तो विशेषज्ञ सेवा पश्चिम नेपालका बिरामीहरूका लागि निकै महत्वपूर्ण र लाभदायक हुने विश्वास गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर