spot_img

बिहे भोजबाट फर्किने क्रममा दुई किशोरी मृत भेटिए, एक अझै बेपत्ता

बिहे भोजबाट फर्किने क्रममा दुई किशोरी मृत भेटिए, एक अझै बेपत्ता

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ गरालाबोटकी पविता ओली आफ्ना दुई छोरी गुमाएपछि विक्षिप्त अवस्थामा पुगेकी छन्। बेलाबेला टोलाउने र बेहोस भइरहने उनी शोकले विकल बनेकी छन्।
गत सोमबार साँझ नदीपारिको बस्तीमा बिहे भोज खान गएका उनकी दुई छोरी कल्पना र उर्मिला मंगलबार बिहान नदी किनारमा मृत अवस्थामा भेटिएका हुन्। उनीहरू सानीभेरी नदी नजिक मृत अवस्थामा फेला परेका थिए।
पविताका अनुसार सोमबार साँझ करिब ५ बजेतिर कल्पना, उर्मिला, छोरा अमृत र जेठाजूकी छोरी सपना सानीभेरी नदीमाथिको झोलुङ्गे पुल तरेर करिब एक घण्टाको दूरीमा रहेको मुसिकोट नगरपालिका–१ भलखोलामा साथीको बिहेमा सहभागी हुन गएका थिए।
सोही राति करिब ८ बजेतिर कल्पना, उर्मिला र सपना बिहे घरबाट घर फर्किन हिँडेका थिए। तर उनीहरू घर भने पुगेनन्। मंगलबार बिहान करिब साढे ८ बजेतिर घरदेखि तल नदी किनारमा करिब २ सय मिटरको दूरीमा कल्पना र उर्मिलाको शव भेटिएको हो। उनीहरूसँगै गएकी सपना भने अझै बेपत्ता छिन्।
मृतक र बेपत्ता किशोरीहरूसँगै बिहेमा गएका १८ वर्षीय दाइ अमृतले आफूले राति ८ बजेसम्म बहिनीहरूलाई बिहे घरमै देखेको बताए। “८ बजेपछि उनीहरू देखिनन्। घर फर्किए होलान् भनेर सोचेँ। म भने साथीहरूसँग राति १२ बजेतिर फर्किएर साथीको घरमै सुतेँ। बिहान यस्तो घटना भएको खबर आयो,” उनले भने।
मंगलबार बिहान स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहिला भेटिएको शव कल्पनाको रहेको पुष्टि भयो। त्यसपछि खोजी गर्ने क्रममा करिब २ सय मिटर तल उर्मिलाको शव पनि भेटिएको हो। तर सपनाको भने अझै अत्तोपत्तो लाग्न सकेको छैन।
घटनापछि दुई छोरी गुमाएकी आमा पविता र उनका परिवार शोकमा डुबेका छन्। बेपत्ता सपनाका बुबा लोकबहादुर र आमा डिलसरा पनि मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगेका छन्।
बुधबार मृतक कल्पना र उर्मिलाको पोस्टमार्टमपछि सोही दिन अन्त्येष्टि गरिएको छ। बेपत्ता सपनाको खोजीका लागि प्रहरी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर