ग्लोबल मनी वीक २०२६ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
०३ चैत्र २०८२ मंगलबार

कञ्चन गाउँपालिका गोविन्द आचार्य / ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लि. कञ्चन गाउँपालिका ३ धौलागिरी शाखाको आयोजनामा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। स्मार्ट मनी टक्स (Smart Money Talks) भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय समुदायलाई बचत गर्ने बानीको विकास, सुरक्षित आर्थिक कारोबार, सही लगानी तथा वित्तीय अनुशासनका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर ४० की सदस्य लत्ता चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गैडहवा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सराजुद्विन धुनियाको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सराजुद्विन धुनियाले नागरिकहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहले पनि नागरिकहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। बचत गर्ने बानीको विकास, सही तरिकाले ऋणको प्रयोग तथा योजनाबद्ध लगानीले व्यक्तिको आर्थिक अवस्था मजबुत बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यसैगरी कार्यक्रममा वक्ताका रूपमा प्रहरी चौकी पोहवाका प्रमुख जित बहादुर मुखियाले आर्थिक कारोबार गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिनुभयो। उहाँले पछिल्लो समयमा विभिन्न किसिमका ठगी तथा आर्थिक अपराध बढ्दै गएको उल्लेख गर्दै अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा सतर्कता अपनाउन आग्रह गर्नुभयो।
कार्यक्रम माथी प्रकाश पार्दै सुक्रौली केन्द्रका स्टेशन प्रमुख लोकनाथ कुँवर योगीले वित्तीय साक्षरता आजको समयको अत्यन्त आवश्यक विषय भएको बताउनुभयो। उहाँले मानिसहरूमा आर्थिक ज्ञानको अभावका कारण धेरैले विभिन्न प्रकारका आर्थिक जोखिम भोग्नुपरेको उल्लेख गर्दै सही जानकारी र सचेतनाले यस्ता समस्या न्यूनिकरण गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो साथै उहाँले ऋण बैंक तथा वित्तीय सहकारीबाट मात्रै लिन र ऋण लिएर लगानीको क्षेत्रमा मात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लि बनगाई शाखा प्रमुख दिनेश गुप्ताले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै संस्थाले ग्रामीण तथा विपन्न समुदायमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले नागरिकहरूलाई बचत गर्ने बानीको विकास, ऋणको सही प्रयोग तथा आर्थिक अनुशासनको पालनाले व्यक्तिगत तथा पारिवारिक आर्थिक अवस्था सुदृढ बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड कञ्चन गाउँपालिका ३ धौलागिरी शाखाका प्रमुख जीवन बस्यालले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायमा आर्थिक ज्ञान अभिवृद्धि गर्ने तथा नागरिकहरूलाई जिम्मेवार आर्थिक व्यवहारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले वित्तीय अनुशासन, नियमित बचत, सुरक्षित आर्थिक कारोबार तथा जिम्मेवार लगानीका विषयमा जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले दैनिक जीवनमा आर्थिक योजना बनाउन तथा सही आर्थिक निर्णय लिन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा आयोजक ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लि. कञ्चन गाउँपालिका ३ धौलागिरी शाखाले आगामी दिनहरूमा पनि समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले यस्ता कार्यक्रमले समाजमा आर्थिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य, सेवाग्राही तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









