स्काउट आन्दोलनले अनुशासन, नेतृत्व र चरित्र विकासमा टेवा दिन्छ
गोल्डेन फ्युचर इंग्लिस एकेडेमीमा आयोजित गोल्डेन स्काउट ट्रुपको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा अतिथि वक्ताहरूले स्काउट आन्दोलनको महत्वमाथि जोड दिँदै यसले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
विशिष्ट अतिथि नेपाल स्काउट लुम्बिनी प्रदेशकी कार्यकारी सदस्य चन्द्रिका भट्टराईले स्काउट गतिविधिले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवा भावना र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग गर्ने बताउनुभयो। “सेवामै हाम्रो पहिचान” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजप्रति उत्तरदायी बन्न उहाँले आग्रह गर्नुभयो। सिकेका सीपलाई व्यवहारमा उतार्दै असल नागरिक बन्न र समाज हितमा काम गर्न स्काउटहरूलाई प्रेरित गर्नुभयो।
प्रमुख अतिथि गैडहवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भुवन रानाले स्काउट कार्यक्रम व्यवहारिक जीवनसँग जोडिने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीलाई अनुशासन, जिम्मेवारी र सामाजिक सेवा सिकाउने यस्ता कार्यक्रम आजको आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी, सिद्धार्थ मेमोरियल एकेडेमीका प्राचार्य भोजराज पौड्यालले स्काउट शिक्षाले चरित्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो। उहाँले स्काउटमार्फत विद्यार्थीहरूले सहकार्य, नेतृत्व र सेवा भाव व्यवहारमै सिक्ने अवसर पाउने बताउनुभयो।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य कृष्ण बि.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्षता प्राचार्य लेखनाथ पोख्रेलले गर्नुभएको थियो। रोभर स्काउट बिशाल पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रम स्काउट शिक्षक आर्यन घिमिरेले सञ्चालन गर्नुभएको थियो।





