सैनामैनामा ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस मनाइयो
सैनामैना, ७ चैत
सैनामैना दलित उत्थान समिति सैनामैनाद्वारा ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। कार्यक्रमअन्तर्गत कोणसभा आयोजना गरी सबै जात–जाति बराबर हुन् र मानव अस्तित्व एउटै हो भन्ने सन्देश प्रवाह गरिएको थियो।
सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकहरूमा गोरा शासकद्वारा लादिएको उपनिवेशवाद, जातीय विभेद तथा रंगभेदविरुद्ध संघर्षका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९६६ मा मार्च २१ लाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस’का रूपमा मनाउन आह्वान गरेको थियो। नेपालमा सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका संरक्षक खेम बहादुर बि.क.ले दलित समुदायमाथि हुने कुनै पनि प्रकारका विभेद अस्वीकार्य र अक्षम्य हुने उल्लेख गर्दै संविधानमा व्यवस्था गरिएका अधिकारहरूको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले समानता र सामाजिक न्याय सुनिश्चित गर्न नीति निर्माणमा थप सुधार आवश्यक रहेको बताउनुभयो।
संस्थाका सल्लाहकार अनिल पहाडीले जातीय विभेद कानुनतः दण्डनीय भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अझै पनि दलित समुदाय विभेदको सिकार हुनुपरेको उल्लेख गर्नुभयो। उहाँले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत मात्रै वास्तविक समानता सम्भव हुने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले “जातीय भेदभाव अन्त्य गरौँ”, “छुवाछूतमुक्त राष्ट्र निर्माण गरौँ”, “मानवता नै सबैभन्दा ठूलो धर्म हो”, “सामाजिक न्याय र समतामूलक समाज निर्माण गरौँ” जस्ता सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उक्त कार्यक्रममा दलित जनप्रतिनिधि विष्णु कुमारी बिक, सुनचाँदी व्यवसायी संघ सैनामैनाका अध्यक्ष निर्मल कालिराज, दलित संघ सैनामैनाका सभापति हिरा परियार, संस्थापक सचिव सन्तोष परियार, भगत सर्वजित प्रतिष्ठान सैनामैनाका अध्यक्ष निल बहादुर सुनारलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष जयलाल बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष सिता दर्नालले स्वागत मन्तव्य र महासचिव माया रसाइलीले सञ्चालन गर्नुभएको थियो।
यस अवसरमा वक्ताहरूले सबै जात–जाति बराबर हुने, सबैको अस्तित्व समान हुने र विभेदरहित समाज निर्माण गर्नु आजको आवश्यकता भएकोमा जोड दिएका थिए।
सैनामैनामा ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस मनाइयो
प्रतिक्रिया



