आधुनिक समाज डेन्टल केयरमा संघीय सांसदसँग महत्वपूर्ण छलफल सम्पन्न, सस्तो र भरपर्दो सेवामा जोड
रूपन्देहीको बुटवलस्थित आधुनिक समाज डेन्टल केयर प्रालिमा अर्घाखाँचीका संघीय सांसद हरि प्रसाद भुसाल सँग महत्वपूर्ण छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दाँत सम्बन्धी रोगहरूको अवस्था, उपचारको पहुँच र राज्यको भूमिका लगायत विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै सांसद भुसालले दाँत सम्बन्धी उपचारमा राज्यको पहुँच अपेक्षाकृत कमजोर रहेको स्वीकार गर्नुभयो। उहाँले स्वास्थ्य सेवामा विशेष गरी दन्त उपचारको क्षेत्रमा राज्यको उपस्थिति अझै मजबुत हुनुपर्ने धारणा राख्दै आधुनिक समाज डेन्टलसँग समन्वय र सहकार्य गर्न आफू सकारात्मक रहेको बताउनुभयो। साथै, यो विषयलाई संघीय संसदसम्म पुर्याएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले दाँत सम्बन्धी बिरामीहरूको संख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै आधुनिक समाज डेन्टलले केही बिरामीहरूलाई निःशुल्क तथा न्यून शुल्कमा सेवा दिएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस्तो सामाजिक उत्तरदायित्व बोकेको संस्थाले समाजमा ठूलो योगदान पुर्याएको उहाँको भनाइ थियो।
यसै कार्यक्रममा आधुनिक समाज डेन्टलका अध्यक्ष तथा स्वास्थ्य अभियान्ताअमृत भुसाल ले संस्थाले सुरुदेखि नै विपन्न, गरिब तथा जेहेन्दार वर्गलाई लक्षित गरी सेवा दिँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक अभावका कारण कसैले पनि दाँतको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले न्यूनतम दररेटमा सेवा प्रदान गरिँदै आएको छ।
उहाँले भन्नुभयो, “दाँतको समस्या सानो जस्तो देखिए पनि यसले मानिसको समग्र स्वास्थ्यमा ठूलो असर पार्छ। त्यसैले हामीले सधैं उपचारलाई सहज, सुलभ र विश्वासिलो बनाउने प्रयास गरेका छौं।” अध्यक्ष भुसालले आगामी दिनमा अझ बढी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू ल्याउने र सेवा विस्तार गर्ने योजना रहेको पनि बताउनुभयो।
कार्यक्रममा आधुनिक समाज डेन्टलका कार्यक्रम निर्देशक माधव सापकोटा ले पनि आफ्नो धारणा राख्दै संघीय सांसद भुसालको ध्यानाकर्षण गराउनुभयो। उहाँले दाँत सम्बन्धी उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा अझै पनि दन्त सेवाको अभाव रहेको बताउनुभयो।
सापकोटाले आधुनिक समाज डेन्टलले विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी हजारौं नागरिकलाई सेवा दिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले समाजमा सचेतना फैलाउनुका साथै दाँत सम्बन्धी रोगहरू समयमै पहिचान गर्न मद्दत पुर्याएको छ।
कार्यक्रममा वरिष्ठ डाक्टर भोजराज खनाल, पत्रकार, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले दन्त स्वास्थ्यको महत्त्वबारे आफ्ना धारणा राख्दै यस्तो प्रकारको छलफलले नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
आधुनिक समाज डेन्टल केयरले विगत लामो समयदेखि निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। यहाँ उपचार गराउन आउने बिरामीहरूले सस्तो, भरपर्दो र प्रभावकारी सेवा पाएको अनुभव सुनाउने गरेका छन्। धेरै बिरामीहरूले यहाँको सेवा, चिकित्सकको व्यवहार र आधुनिक प्रविधिको प्रयोगप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय स्तरमा मात्र नभई आसपासका जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्। यसले आधुनिक समाज डेन्टलको विश्वसनीयता र लोकप्रियता झल्काउँछ। सेवा विस्तारसँगै संस्थाले सामाजिक सेवामा पनि उत्तिकै जोड दिएको छ, जसले यसलाई एक उदाहरणीय स्वास्थ्य संस्था बनाएको छ।
समग्रमा, आधुनिक समाज डेन्टल केयरले दन्त स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संघीय सांसदसँगको यो छलफलले भविष्यमा अझ प्रभावकारी योजना र सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ। सस्तो, सुलभ र गुणस्तरीय सेवामार्फत जनताको मन जित्न सफल आधुनिक समाज डेन्टलले आगामी दिनमा अझ ठूलो योगदान दिने विश्वास लिइएको छ।





