बकुलघाट गजेडी बजार खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं. २ मा सञ्चालनमा रहेको बकुलघाट गजेडी बजार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाँचौं वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ, जसले आगामी दिनमा संस्थालाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
अधिवेशनबाट अध्यक्षमा सोमनाथ शर्मा चयन हुनु भएको छ भने उपाध्यक्षमा दुर्गा बहादुर कार्की, सचिवमा धनिश्वर शर्मा, कोषाध्यक्षमा रेनु कुँवर र सह–सचिवमा द्वारिका थारु चयन हुनु भएको छ। त्यसैगरी सदस्यहरूमा कविराज काउचा, युवराज शर्मा, बैजनाथ भुज, पदम मल्ल, नरजित विश्वकर्मा, देवी सुवेदी, माया क्षेत्री र गोमा बुचा चयन हुनु भएको छ।
लेखा समितिको संयोजकमा धुर्व फुल्लेल चयन हुनु भएको छ भने सदस्यहरूमा बाबुराम गौतम, नारायण खनाल र ओमप्रसाद सुवेदी रहनु भएको छ। नयाँ कार्यसमितिले संस्थाको पारदर्शिता, दिगोपन र सेवा विस्तारमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देही खानेपानी डिभिजन प्रमुख प्रकाश के.सी.ले शुद्ध खानेपानीको महत्वबारे प्रकाश पार्दै शुद्ध पानी सेवन गर्दा करिब ८० प्रतिशत रोगबाट बच्न सकिने बताउनु भयो। उहाँले खानेपानी जस्तो आधारभूत आवश्यकताको व्यवस्थापनमा समुदायको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि कार्यालय सधैं तयार रहेको जानकारी दिनुभयो।
यसै क्रममा संस्थाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो। उहाँले आफ्नो नेतृत्वमा संस्थाको स्थापना गर्दै एक हजार एक सय भन्दा बढी उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले उक्त उपलब्धि व्यक्तिगत प्रयास मात्र नभई सम्पूर्ण उपभोक्ता, सहयोगी तथा सरोकारवालाको सहकार्यबाट सम्भव भएको उल्लेख गर्नुभयो।
शर्माले आफ्नो कार्यकालमा थुप्रै चुनौतीहरू सामना गर्नु परेको भए पनि सबैको साथ र सहयोगले संस्थालाई यहाँसम्म ल्याउन सफल भएको बताउनु भयो। उहाँले संस्थाको विकास, पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिएको स्मरण गर्दै अब नयाँ नेतृत्वलाई आवश्यक सल्लाह र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो। साथै उहाँले विगतमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, निकाय र उपभोक्ताप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ मजबुत बनाउने जिम्मेवारी अब नयाँ कार्यसमितिमा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टेकबहादुर गुरुङ तथा रुद्रपुर खानेपानीका अध्यक्ष नाम बहादुर के.सी. लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा र उहाँको टिमले गरेको कामको प्रशंसा गर्दै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भयो।
उहाँहरूले खानेपानी जस्तो अत्यावश्यक सेवामा पारदर्शिता, उत्तरदायित्व र सामूहिक सहकार्य अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। साथै आगामी दिनमा संस्थाले अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाले विगतमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका थिए।
समग्रमा, बकुलघाट गजेडी बजार खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई नयाँ ऊर्जा र दिशातर्फ अघि बढाउने आधार तयार गरेको छ। नयाँ कार्यसमितिले समुदायको विश्वास कायम राख्दै शुद्ध खानेपानीको पहुँच विस्तार र सरसफाइ सुधारमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको
बकुलघाट गजेडी बजार खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन अध्यक्षमा सोम शर्मा
प्रतिक्रिया



