गौतम बुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन, सञ्चार क्षेत्रको सक्रियतामा प्रशंसा
रुपन्देहीको सैनामैना क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको गौतम बुद्ध प्रेस क्लबले आफ्नो वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ। क्लबका अध्यक्ष थानेश्वर घिमिरे को अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममार्फत उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष राजकुमार चौधरीले गौतम बुद्ध प्रेस क्लबले छोटो समयमा नै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उहाँले सञ्चार क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै प्रेस क्लबजस्ता संस्थाहरूले समाजमा सकारात्मक सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “गौतम बुद्ध प्रेस क्लबले सीमित स्रोत र साधनका बाबजुद पनि निरन्तर सक्रियता देखाउँदै आएको छ, जुन सराहनीय छ,” उहाँले भन्नुभयो। स्थानीय स्तरका समस्या उजागर गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विकासका विषयलाई प्राथमिकतामा राख्ने कार्यमा क्लबले खेलेको भूमिकाको उहाँले उच्च कदर गर्नुभयो। साथै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष थानेश्वर घिमिरे नविन ले आफू संस्था नेतृत्वमा आएपछि जिम्मेवारीपूर्वक काम गर्ने अठोटका साथ अघि बढेको बताउनुभयो। उहाँले प्रेस क्लबलाई सबैको साझा संस्था बनाउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै सैनामैना, कन्चन र गैडहवा क्षेत्रको समग्र विकासमा सञ्चार माध्यममार्फत सकारात्मक योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो। “हामी केवल समाचार सम्प्रेषण गर्ने मात्र होइन, समाजलाई सही दिशातर्फ डोर्याउने जिम्मेवारी पनि बोकेका छौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार क्लबले पत्रकारहरूको क्षमता अभिवृद्धि, निष्पक्ष पत्रकारिता प्रवर्द्धन तथा स्थानीय मुद्दाहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखेको छ। साथै सबैलाई समेटेर अगाडि बढ्ने नीति अनुसार संस्था सञ्चालन भइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा क्लबका सल्लाहकार, कार्यसमिति सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस क्लबको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यहरू हुने विश्वास व्यक्त गरेका थिए। क्यालेन्डर विमोचनसँगै संस्थाले आफ्नो वार्षिक गतिविधिको झलक प्रस्तुत गरेको थियो, जसले संस्थाको सक्रियता र योजनाबद्ध कार्यशैलीलाई झल्काएको देखिन्थ्यो।
कार्यक्रमको अन्त्यतिर धन्यवाद ज्ञापन तथा आपसी शुभकामना आदानप्रदान गरिएको थियो। समग्रमा कार्यक्रमले स्थानीय सञ्चार क्षेत्रलाई थप मजबुत बनाउने तथा सहकार्यको वातावरण सिर्जना गर्ने सन्देश दिएको सहभागीहरूको भनाइ रहेको थियो। कार्यक्रम को सन्चालन संस्थाका महासचिव अनिल पहाडीले गर्नु भएको थियोे ।



