लुतो फ्याँक्ने पर्वः यसरी हराउँदै गयाे चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् ।

साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो ।
सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो ।धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन । आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ ।नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ । साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ । विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ ।
लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा धमाधम हुँदा केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन । हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो ।
रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो । त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो ।
यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए । तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ ।
लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ । कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ ।
हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो । खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पुर्याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ ।
श्रावण १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो । विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन् ।
यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ । सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पातबिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ । त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ ।झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ । कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ ।
कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ । अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो । । तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै ।बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ । रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो ।



