spot_img

दगा तुन्डाडा सम्पर्क समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न

दिनेश घिमिरे बुटवल
दगा तुन्डाडा सम्पर्क समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न

Oplus_131072

रुपन्देहीमा बसोबास गर्दै आएका बाग्लुङ जिल्लाको दगा तुन्डाडा क्षेत्रका स्थानीयहरुको साझा संस्था “दगा तुन्डाडा सम्पर्क समाज” को चौथो वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष चाणक्य अधिकारीको अध्यक्षता तथा गण्डकी प्रदेश सरकारकी उपसभामुख बिना थापा को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख बिना थापाले बाग्लुङको दगा तुन्डाडाबाट रुपन्देहीमा बसोबास गर्दै आएका स्थानीयबीचको एकता, सद्भाव र आपसी सहकार्य देखेर आफू अत्यन्त खुशी भएको बताउनु भयो। उहाँले आफ्नो जन्मथलो र संस्कृतिलाई जोगाउँदै नयाँ ठाउँमा सामाजिक एकता कायम गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो। समाजले सामाजिक, शैक्षिक तथा मानवीय क्षेत्रमा गरिरहेका गतिविधिले समुदायलाई थप सशक्त बनाएको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो।
उहाँले सामाजिक संस्थाहरुले समुदायलाई जोड्ने महत्वपूर्ण काम गर्ने भएकाले यस्ता संस्थाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा राख्नुभयो। युवापुस्तालाई आफ्नो पहिचान, संस्कृति र परम्परासँग जोडेर अघि बढाउन समाजले विशेष भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, सामाजिक कार्यमा एकजुट भएर लाग्दा समुदायको विकास सम्भव हुने बताउँदै सम्पूर्ण सदस्यलाई निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।
कार्यक्रममा विभिन्न संघसंस्थाबाट सहभागी भएका प्रतिनिधिहरुले दगा तुन्डाडा सम्पर्क समाजले छोटो समयमै सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्न सफल भएको बताएका थिए। उनीहरुले समाजले आपसी सहयोग, सामाजिक एकता, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको धारणा राख्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा समाजका अध्यक्ष चाणक्य अधिकारी ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगत एक वर्षमा गरेका विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिबारे जानकारी गराउनु भयो। उहाँले समाजले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान कार्यक्रम आयोजना, युवाहरुलाई सीप विकास तालिम, जेष्ठ सदस्य सम्मान, कर्मचारी सम्मान तथा बालबालिका र अभिभावकलाई जन्मभूमिको दर्शन गराउने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।अध्यक्ष अधिकारीले समाज केवल भेटघाट र शुभकामना आदानप्रदानमा सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउनुभयो। उहाँले समुदायमा रहेका युवाहरुलाई सकारात्मक दिशामा प्रेरित गर्न तथा नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानबारे जानकारी गराउन समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक चेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
कार्यक्रममा समाजका कोषाध्यक्ष बेल बहादुर थापा ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आयव्यय विवरण सार्वजनिक गर्नुभयो। उहाँले शेयर सदस्यबाट संकलित रकम सुरक्षित रूपमा बैंकमा राखिएको तथा विभिन्न योजना र सदस्यहरुको सहयोगबाट संस्था सञ्चालन भइरहेको जानकारी दिनुभयो। आर्थिक पारदर्शितालाई प्राथमिकता दिँदै संस्थाको हरेक गतिविधि सदस्यको सहभागिता र सुझावका आधारमा सञ्चालन गरिएको उहाँको भनाइ थियो।
उहाँले समाजलाई दीर्घकालीन रूपमा मजबुत बनाउन आर्थिक स्रोत व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो। सदस्यहरुको सक्रिय सहयोगका कारण संस्था निरन्तर अगाडि बढ्न सफल भएको भन्दै आगामी दिनमा अझ योजनाबद्ध ढंगले कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
साधारणसभाको अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो। कार्यक्रममा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। यस्तै, कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत गर्ने कलाकार तथा बालबालिकालाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले सहभागीहरुमा थप उत्साह र प्रेरणा थपेको देखिन्थ्यो।
कार्यक्रममा समाजका सल्लाहकार गुणानिधी तिवारी ले संस्था आजको अवस्थासम्म आइपुग्न सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले समाजलाई अझ सशक्त र प्रभावकारी बनाउन सबैको साथ, सहयोग र एकता आवश्यक रहेको बताउनुभयो।
उहाँले संस्थाले छोटो समयमै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ ठूला र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। दगा तुन्डाडाबाट विभिन्न कारणले रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिहरुबीच आपसी सम्बन्धलाई अझ मजबुत बनाउन समाजले महत्वपूर्ण भूमिका खेलिरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागीहरुले समाजले गर्दै आएका गतिविधिप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा शुभकामना मन्तव्यले थप आकर्षण थपेको थियो।समाजका सचिव इन्द्र अर्याल ले सञ्चालन गर्नुभएको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुले संस्थाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहयोग र सद्भावलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर