डी. आर. बन्जाडे
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपलिकाले भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख प्रगति हासिल गरेको छ । पाँच वर्षको अवधिमा रचनात्मक कार्यका लागि चर्चामा रहेको नगरपालिकाले भौतिक पूर्वाधारका क्षेत्रमा समेत प्रगति हासिल गरेको हो । शून्य संरचनाबाट सुरुवात गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि चाहिने प्रायः सबै प्रशासनिक भवन निर्माण गर्न सफल देखिएको छ । यो समय अवधिमा अत्याधुनिक नगरपालिकाको भवन, सवै वडामा वडा कार्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् । सुरुवातमा भाडाका संरचनाबाट सेवा सुभारम्भ गरेको नगरपालिकाले अहिले १७ वटै वडामा आफ्नै भवनबाट सेवा दिइरहेको छ । सबै वडाहरुमा स्वास्थ्य संस्थाका भवनहरु समेत निर्माण गरी सेवा सुरुवात गरेको छ ।
कालोपत्रे तथा सडक स्तरोन्नतिमा तिलोत्तमाको सक्रियता
तिलोत्तमा नगरपालिकामा पछिल्लो ५ वर्षको अवधिमा झण्डै ५१० किलोमिटर नयाँ तथा पुराना सडक कालोपत्रे भएको छ । मूल सडक, भित्री सडक र शाखा सडकहरु गरी ५ सय १० किलोमिटर सडक कालोपत्रे भएको तथ्यांकले देखाउँछ । पाँच वर्षको अवधिमा एउटा वडाले औषतमा ३० किलोमिटरका दरले सडक निर्माण गरेको पाइएको छ । प्रत्येक वर्ष झण्डै साढे ७ किलोमिटरका दरले वडाहरुले कालोपत्रे गरेका छन् । जस अनुरुप १७ वटा वडामा एक वर्षमा झण्डै १२८ किलोमिटर सडक कालोपत्रे भएको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा पछिल्लो पाँच वर्षको अवधिमा ३६० किलोमिटर बाटो ग्राभेल भएको छ । नगरभित्रका १७ वटै वडाले औसतमा २१ किलोटरका दरले सडक ग्राभेल गरेका छन् । प्रत्येक वर्षमा ५ किलोमिटर भन्दा बढी बाटो ग्राभेल हुने गरेको तथ्यांकले देखाएको छ ।
तिलोत्तमा नगरपालिका भित्रका कतिपय वडाहरुमा ट्रयाक खोल्ने काम समेत भएको देखिएको छ । पछिल्लो ४ वर्षको अवधिमा झण्डै २२५ किलोमिटर नयाँ बाटो निर्माण भएको छ । नगरपालिकालाई व्यवस्थित रुपमा विकास गर्नका लागि आवश्यक परेको स्थानहरुमा ट्रयाक खोल्ने काम भएको नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । ट्रयाक खोल्ने कार्य वडा अनुसार फरक फरक दरले भएको छ । जस अनुरुप केही वडामा धेरै बाटो नयाँ ट्रयाक खोलिएको छ भने कुनै वडामा ट्रयाक खोलिएको छैन ।
तिलोत्तमा नगरपालिकाले कल्भर्ट निर्माणमा पनि प्रगति हासिल गरेको छ । नगरपालिका भित्र पाँच वर्षको अवधिमा झण्डै ४२५ वटा कल्भर्ट निर्माण भएका छन् । वडाले २५ वटा कल्भर्टका दरले १७ वटा वडाले औषतमा सो संख्यामा कल्भर्ट निर्माण गर्न सफल भएका योजना शाखाले जनाएको छ ।
विद्युत्का पोल निर्माण तथा पुनःस्थापना ः
तिलोत्तमा नगरपालिकाले विद्युत आपूर्तिमा सहजताका लागि विद्युत्का पोल व्यवस्थापनमा समेत प्रगति हासिल गरेको छ । पछिल्लो पाँच वर्षको समयमा नगरपालिकाभित्र झण्डै ५ हजार ५०० थान पोलहरु प्रयोगमा ल्याइएको छ । जीर्ण भएका पोललाई पुनःस्थापित गरेका र नयाँ पोल स्थापित भएका गरी नगरपालिकाका १७ वटा वडामा जनप्रतिनिधि निर्वाचित भए पछि औषत ३२० थानका दरले सो संख्यामा विद्युत्का पोलहरुको व्यवस्थापन भएको हो ।
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि विद्युत्का पोल व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई मध्यनगर गरी पोलहरू थप गरिएको नगर प्रमुख घिमिरेले बताए । ‘जीर्ण अवस्थामा रहेका पोललाई बदल्नुपर्ने थियो । आवश्यकताका आधारमा पोलहरु बदलिएको छ । तिलोत्तमा नयाँ शहरका रुपमा विकास भएको हुनाले पनि यस क्षेत्रमा विद्युत्को व्यवस्थापन जरुरी भएको छ ।’ –उनले भने ।
तीन महिना मै शंकरपुर–प्रशासनिक भवन जोड्ने सडक
नगरपालिकाले तीन महिनामा शंकरपुर चोक देखि नगरपालिकाको प्रशासनिक भवन जोड्ने सडक निर्माण गरेको छ । २ किलोमिटर लम्वाई १० दशमलव ५ मिटर चौडाई रहेको सडक तीन महिना मै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । सडक निर्माण गर्न ४८ लाख ३० हजार लागत लागेको थियो । वि.सं. २०७५ साल चैत्र १२ गते सम्झौता गरी २०७६ जेष्ठ ३० गते निर्माण सम्पन्न गरेको हो । यस्तै प्रशासनिक भवन जोड्न माइनर ब्रिज समेत निर्माण भएको छ । माइनर ब्रिज भने ८ महिनामा निर्माण सम्पन्न भएको हो । १६ लाख ५९ हजार लागतमा सम्पन्न सो ब्रिजको लम्बाई ८.५ मिटर छ भने चौडाई ६ मिटर रहेको छ । सेवा वितरणका लागि अनिवार्य सडक नयाँ ट्रयाक खोली निर्माण सम्पन्न भएको प्रमुख वनले बताए । ‘हामी शुन्यबाट सडक सुरु गरेर संचालनमा ल्याएका हौँ । सेवा ग्राहीलाई सहजताका लागि पनि सडक अनिवार्य थियो । सोही अनुरुप काम भएको हो । अहिले सहज रुपमा सेवा दिन सकेका छौँ ।’–उनले भने ।
नगरपालिकाको आधुनिक प्रशासनिक भवन ः
तिलोत्तमा नगरपालिकाले तीन वर्षको अन्तरालमा चार तले ४६ वटा कोठा सहितको नगरपालिकाको प्रशासनिक भवन निर्माण गरेको छ । सोही भवनबाट नगरपालिकाले सेवाग्रहीलाई सेवा दिइरहेको छ । २०७५ साल जेष्ठ १५ गते ठेक्का सम्झौता गरेर २०७८ साल असार २६ गते निमार्ण सम्पन्न गरेको छ । वडा नं. ६, कुञ्जलापुरमा ८ विगाहा १५ कठ्ठा क्षेत्रफलमा निर्माण भएको भवनमा दुई वटा सभाहल सहित ४६ वटा कोठा छन् ।
९ करोड ५८ लाख लागतमा सिनर्जी विलडर्स काठमाण्डौले सो भवन निर्माण गरेको भवन परिसरमा वाटर फाउन्टेन, नगरप्रहरी आवास, सेकुरुटी पोष्टलगाएतका भौतिक संरचना रहेका छन् । उत्तर दक्षिण आरसिसी ढलान सहितको नालीको पनि निर्माण गरिएको छ ।
प्रशासनिक भवन परिसरमा झन्डै सानाठूला १ हजार गाडीहरु पार्किङ गर्न सकिने नगरपालिकाका पूर्वाधार शाखा प्रमुख ईञ्जिनियर प्रदिप वनले बताए । ‘नगर प्रमुख, नगर उप–प्रमुख, प्रशासकीय प्रमुखका सुविधा सम्पन्न कार्यकक्षसहित सेवाग्रही मैत्री आधुनिक भवन निर्माण भएको छ,’ उनले भने–‘जसका कारण हाल सेवा दिन धेरै सहज भैरहेको छ ।’
तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन सिद्धार्थ राजमार्ग बुटवल–भैरहवा सडक खण्डबाट करिब १२ सय मिटर पश्चिम छ । साँघुरो भाडाको भवनबाट सेवा लिँदा अनावश्यक भिडभाड हुने र सहज रुपमा सेवा लिन नसक्ने समस्या सेवाग्रहीले भोग्दै आएका थिए । नयाँ प्रशासनिक भवन निर्माण भए पछि सेवा लिन सजिलो भएको स्थानीय मोहन पौडेल बताउँछन् । ‘सानो ठाउँबाट काम लिनै गाह्रो थियो । यहाँ ठूलो भवन छ । अरु–अरु पनि सुविधा छन् । काम लिन पनि सजिलो छ ।’–उनले भने ।
सुविधा सम्पन्न वडा कार्यालयका भवनहरुः
हाल नगरपालिकाका सबै वडाहरुमा एकल वडा कार्यलयहरु सञ्चालनमा छन् । कतिपपय वडाहरुको भवन नहुँदा संयुक्त रुपमा सेवा दिन वडाहरु बाध्य थिए । साविकका गाविस भवनहरु र नयाँ भवनहरु निर्माण गरी नगरपालिकाले हाल एकल वडा कार्यालयबाट सेवा दिइरहेको छ । सबै वडाहरुमा एकल वडा कार्यालय निर्माण गर्ने नीति अनुरुप नगपालिकाका १७ वटै वडामा वडा कार्यालयहरु निर्माण सम्पन्न भएका छन् । भवन निर्माणको समय अवधि एक वर्ष देखि दुई वर्षको बीचमा छ । दुई वर्षको पेरिफेरिमा प्रायः सवै भवनहरु सम्पन्न भएको तिलोत्तमाका नगर प्रमुख घिमिरे बताउँछन् । ‘हामी एकल वडा कार्यालय संचालनको नीति अनुरुप काम गरेका हौँ । सोही अनुरुप सफलता पनि हात लागेको छ । भवनहरु निर्माण सम्पन्न गर्न धेरै समय लागेन । उद्देश्य अनुरुप नै सम्पन्न भएका छन् । ’–उनले भने ।
वडा नम्वर ३, ४, ५, ८, ९, ११, १३, १६ मा नयाँ भवन निर्माण सम्पन्न भई सेवा दिइरहेका छन् । पछिल्लो चार वर्षको अवधिमा वडा कार्यालयका लागि मात्रै ८ वटा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको ईञ्जिनियर वनले बताए । नयाँ बनेका वडामा कार्यालयहरु ५ देखि ६ कोठा सम्मका एक तले छन् । अपाङ्गमैत्री र भूकम्पप्रतिरोधी आधुनिक भवनका रुपमा निर्माण गरिएको उनले बताए ।
संयुक्त वडा कार्यालयहरु हुँदा भौतिक पूर्वाधार अभावमा समस्या हुँदै आएकोमा एकल वडा कार्यालयबाट सेवा लिन पाउँदा सहज भएको वडा नम्वर ३ का स्थानीय अनिता श्रेष्ठ बताउँछिन् । ‘अन्य वडा कार्यालयमा जाँदा पायक पनि नपर्ने । सचिव पनि नचिनिने समस्या हुन्थ्यो । अहिले त आनन्द भएको छ । सुविधा नै छ । वडा भवन बनेपछि सेवा लिन पनि सजिला नै भएको छ ।’–उनले भनिन् ।
प्राविधिक शिक्षाका लागि तिलोत्तमा सिटी कलेज ः
तिलोत्तमा नगरपालिकाको मेघा प्रोजेक्टका रुपमा तिलोत्तमा सिटी कलेज निर्माण सम्पन्न भएको छ । कलेज तिलोत्तमा वडा नम्वर १४ खैरियामा २ विगाहा परिसरमा निर्माण सम्पन्न भएको छ । एक वर्षमा ३ तले भवन निर्माण गर्न नगरपालिका सफल देखिएको छ । २०७६ साल फागुन ५ गते निर्माण सम्झौता गरेर एक वर्ष अर्थात २०७७ फागुन २१ गते निर्माण सम्पन्न भएको सो भवनमा १६ वटा सुविधा सम्पन्न कोठाहरु रहेको वनले बताए । ३ करोड ७७ लाख लागतमा सम्पन्न भएको आधुनिक भवन निर्माण भए पछि सुविधा सम्पन्न तरिकाले प्राविधिक शिक्षा दिन सहज भएको नगरपालिकाको बुझाइ छ । ‘हामी आधुनिक भवन निर्माण गरी प्राविधिक शिक्षा प्रधान गर्न सहज होस् भनेर भवन निर्माण गरेका थियौँ ।’–नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले भनिन् ।
आरामदायी जेष्ठ नागरिक मिलन केन्द्र ः
तिलोत्तमा नगरपालिकाले वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिकहरुलाई लक्षित गरी भवन निर्माण गरेको छ । एक वर्षको अवधिमा नगरपालिकाले जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सम्पन्न गरेको हो । ५ कठ्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको मिलन केन्द्रमा सुविधा सम्पन्न हल निर्माण गरिएको छ । ३१ लाख ८१ हजार लागतमा सम्पन्न सो मिलन केन्द्रमा जेष्ठ नागरिकहरुको भेटघाट, अन्य कार्यक्रमहरु गर्न सहज होस् भनेर भवन निर्माण गरिएको नगरपालिका प्रवक्त सुरेन्द्र श्रीले बताए । सो भवन निर्माण गर्न एक वर्ष समय लागेको थियो । २०७६ साल जेठ ६ गते सम्झौता गरी २०७७ साल असार २४ गते सम्पन्न भएको थियो । ‘जेष्ठ नागरिकका लागि नगरपालिकाले भवन बनाउनु राम्रो कुरा हो,’ तिलोत्तमा–५ का ७६ वर्षीय हरिलाल रायमाझीले भने, ‘त्यसलाई सहि तरिकाले प्रयोगमा ल्याउनुपर्छ । हाम्रो लागि उपयोगी हुनुपर्छ ।’
१२ सय क्षमताको सभाहल ः
नगरपालिकाले दुई वर्ष लगाएर १२ सय बढी क्षमताको सभाहल निर्माण गरेको छ । तिलोत्तमाको वडा नं. ९, केउलानीमा १ करोड ९७ लागतमा आधुनिक सभाहल निर्माण गरेको हो । २०७५ असार २५ मा सम्झौता गरी कार्य प्रारम्भ भएको दुई वर्ष मै निर्माण सम्पन्न भएको छ । यहाँ स्टेज सहितको हल, चेन्जिङ रुमहरु, हल भित्र र हल बाहिर शौचालय निर्माण गरिएको छ । यो सँगै अतिथि गृह पनि निर्माण भएको छ । १६ वटा रुम सहितको अतिथि गृह दुई तले छ । २ करोड ९० लाख लागतमा सभाहल परिसरमै निर्माण गरिएको छ । हाल यो स्थानमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ ।
१६ वटा ट्रान्सर्फमर जडान ः
नगरपालिकामा विद्युत्को उतारचढावलाई व्यवस्थित गर्न नगरपालिकाले १६ वटा ट्रान्सर्फमर जडान गरेको छ । नगरपालिकाले ५९ लागतमा दुई सय, एक सय र पचास केभिएका १६ वटा ट्रान्सफर्मर एक वर्षको अवधिमा जडान गरेको ई. वनले बताए । वडा नं. ४, ६, ७, ११, १२, १४ र १७ मा आवश्यकता अनुरुप २ सय केभिएका ४ वटा, १ सय केभिएका ६ वटा र ५० केभिएका ६ वटा गरी जम्मा १६ वटा ट्रान्सफर्मर जडान भएका छन् ।
विद्युतको भोल्टेजमा आउने अनियमितता अन्त्यका लागि ट्रान्फर्मर जडान गरिएको नगरपालिकाका प्रमुख घिमिरेले बताए । ‘विद्युतको समस्याको गुनासो धेरै आए पछि त्यसका समाधानका लागि हामी ट्रान्सफर्मर जडानमा लागेका हौँ,’ उनी भन्छन्, ‘अहिले धेरै हदसम्म समस्या समाधान भएको छ ।’
विद्युत ट्रान्सफर्मर जडान भए पछि विद्युत आपूर्ति केही सहज भएको स्थानीय बताउँछन् । विद्युत अवरुद्ध भैरहने, लो भोल्टेज आउने समस्या समाधान भएको वडा नम्वर ४ का स्थानीय शोभाखर ज्ञवालीको भनाइ छ । ‘पहिले समस्या धेरै नै थियो । ट्रान्र्सफमर राखेपछि समस्या केही समाधान भएको छ ।’–उनले भने ।
थारु होम स्टे ः
नगरपालिकाले स्थानीयहरुको आयआर्जनमा सघाउ पुग्ने गरी भौतिक संरचना निर्माणमा पनि जोड दिएको छ । नगरपालिकाले स्थानीय थारु समुदायलाई पर्यटनसँग जोड्न तिलोत्तमा १३ मा थारु होम स्टे सञ्चालनका लागि भवन निर्माण गरेको छ । २०७६ जेठ २९ मा निर्माण संझोता भई २०७७ असार १५ मा सम्पन्न भएको यो भवनमा हल, स्टेज, चेन्जिङ रुम, शौचालयलगाएतका सुविधा छन् । थारु संस्कारयुक्त कार्यक्रमका लागि उपयोगी हुने गरी भवन निर्माण गरिएको तिलोत्तमाका नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । ५३ लाख १८ हजार लागतमा बनेको भवन झण्डै दुई कठ्ठा क्षेत्रफल ओगटेको छ । समुदाय स्तरबाट नै सञ्चालन गर्ने गरी थारु होम स्टे निर्माण भएको श्रीले बताए ।
भवन बनेपछि थारु समुदायका विभिन्न संस्कार संस्कृति जन्य कार्यक्रम गर्न सहज भएको स्थानीयले अनुभूति गरेका छन् । भवन बनेपछि कार्यक्रमहरु गर्न सहज भएको स्थानीय अशोक थारु बताउँछन् । ‘केही काम गरौँ भन्दा पनि हलको समस्या हुने गरेको थियो । भवन बनेपछि सजिलो नै भएको छ ।’–उनले भने ।
म्याजिक (ट्राफिक) लाईट ः
बढ्दो शहरीकरणका कारण सडक यातायातको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले म्याजिक (ट्राफिक) लाईट जडान गरेको छ । दुई चरणमा जडान गरिएको म्याजिक लाईट अन्तरगत पहिलो चरणमा तिलोत्तमाको केन्द्रका रुपमा विकास हुँदै गएको मणिग्राममा जडान गरिएको थियो भने ड्राइभरटोल, भलबारी र कोटिहवामा दोस्रो चरणमा जडान भएका हुन् ।
मणिग्राममा सञ्चालनमा रहेको म्याजिक लाईट ३ महिना मै जडान गरी प्रयोगमा आएको क्युसेरा मल्टी प्रपोज कम्पनीले निर्माण गरेको हो । तिलोत्तमा वडा नं. ५ मणिग्राममा २०७७ चैत्र १३ गते सम्झौता भई २०७८ साल असार १५ मा जडान गरी प्रयोगमा आइरहेको छ । सम्पूर्ण स्टम जडान सहित जम्मा १९ लाख ५३ हजारमा पहिलो चरणको लागत लागेको थियो भने दोस्रो चरणमा बुटवल भैरहवा सडक खण्ड अन्तरगतको ड्राइभरटोल, भलवारी र कोटिहवा गरी तीन स्थानमा जडान भएको छ । त्यसका लागि ४३ लाख बजेटमा काम सम्पन्न भएको हो ।
बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न र बढ्दो यातायातका साधनका कारण हुने दुर्घटना न्यूनीकरण गर्न लाईट जडान गरेको नगर प्रमुख घिमिरे बताउँछन् । ‘दुर्घटना न्यूनीकरण मुख्य उद्देश्य राखेर लाईट जडान गरेका हौँ । त्योसँगै सडक अनुशासन पनि हाम्रो प्राथमिकता हो ।’–उनले भने ।
ट्राफिक लाईट जडान भएसँगै सडक दुर्घटना कम हुनुका साथै आवागमन सहज भएको स्थानीहरुले महसुस गरेका छन् । ‘हामीलाई बाटो काट्न होस् वा साधन चलाउँदा होस् । लाईटको संकेत अनुसार हिड्दा सुरक्षित भएको महसुस हुने गरेको छ,’ लामो समयदेखि मणिग्राम क्षेत्रमा अटोरिक्सा चलाउँदै आउनुभएका मोदनाथ पाण्डे भन्छन्, ‘यसले सजिलो भएको छ । धेरै सजिलो ।’
स्थानीय उत्पादनको प्रवद्धनका लागि कृषि हाटबजार ः
तिलोत्तमा वडा नम्वर ७ सेमरा बजारमा कृषि हाटबजार निर्माण भई सञ्चालनमा आएको छ । सेमराबजार क्षेत्रमा ८ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न कृषि हाटबजार निर्माण भएको हो । नगरपालिकाले निर्माण भई सञ्चालनमा रहेको हाटबजारमा नाली, ट्रयाक रोड, स्टोर रुम, सौचालय र सुविधा सम्पन्न सेडहरू निर्माण भएका छन । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले हाटबजार निर्माण गरिएको तिलोत्तमाका उपप्रमुख चौधरी बताउँछिन् । ‘यस क्षेत्रमा कृषि उत्पादनको बजारीकरण मुख्य समस्याका रुपमा देखिएको कृषि क्षेत्रको प्रवद्र्धन होस भनेर हामीले हाटबजार निर्माण गरेका हौँ ।’ उनले भनिन् ।
हाटबजार निर्माण भए पछि उत्पादनलाई सुरक्षित रुपमा विक्री वितरण गर्ने वातावरण बनेको स्थनीयको भनाई छ । ‘हामीले उत्पादन गरेका बस्तुहरू हावा, हुरी, घाम–पानीबाट जोगिन्छन्,’ व्यवसाय गर्दै आएका खगुलाल भण्डारीले भने, ‘हाटबजार बनेपछि धेरै नै सजिलो भएको छ ।’
सार्वजनिक तथा बाटो छेउँका स्मार्ट शौचालय ः
तिलोत्तमा नगरपालिकाको वडा नम्वर ९ मंगलापुरमा रहेको सम्झना बाल उद्यान पार्क क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएको छ । एक वर्षमा निर्माण सम्पन्न भएको शौचालय २४ लाख २४ हजार लागतमा निर्माण सम्पन्न भएको हो । शौचालय अपाङ्ग मैत्री रहेको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकाले सडक छेउमा ७ वटा स्मार्ट शौचालय स्थापित गरेको छ । १६ लाख ६८ हजार लागतमा सिद्धार्थ राजमार्ग अन्तरगतको तिलोत्तमा क्षेत्रमा पर्ने बुटवल–भैरहवा सडक खण्डको विभिन्न स्थानहरुमा ६ वटा स्मार्ट शौचालय स्थापित गरिएको छ । शौचालयमा दिशा, पिसाव गर्न र हातमुख धुने लगायत सरसफाईका लागि आवश्यक सुविधा रहेका छन् । सिद्धार्थ राजमार्ग अन्तरगतको शंकरपुर चोक, मंगलापुर, भलवारी, पत्थरडाँडा, कोटिहवा, मधवलियामा गरी ६ वटा र वडा नम्वर ६ मा रहेको कालिका मन्दिर परिसरमा एउटा गरी ७ वटा स्मार्ट शौचालय स्थापित गरिएको छ । राजमार्गको छेउमा रहेका स्मार्ट शौचालयहरुले सौन्दर्यता समेत बढाएको छ ।
सडक छेउमा रहेका शौचालयले यात्रुहरुलाई सहज होस् भन्ने हेतुले स्थापित गरिएको नगरप्रवक्ता सुरेन्द्र श्री बताउँछन् । ‘हामी ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमाको अवधारणमा काम गरिरहेका छौँ । त्यसका लागि पनि स्मार्ट शौचालय सहयोगी भएका छन् ।’–उनले भने ।
स्वास्थ्य संस्थाका भवनहरु ः
तिलोत्तमा नगरपालिकाले सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापन गर्ने लक्ष्यअनुरुप भौतिक पूर्वाधार समेत निर्माण गरेका छ । हाल १७ स्थानमैं स्वास्थय संस्था सञ्चालनमा आएका छन् भने अधिकांशका आफ्नै सुविधासम्पन्न भवनहरु समेत निर्माण भएका छन् ।
सडक पूर्वाधारका रुपमा चालू योजनाहरू ः
तिलोत्तमा नगरपालिकाको मंगलापुर—कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भइ काम सुरु भएको छ । ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना हो । मंगलापुर—कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी) मार्फत् निर्माण हुन थालेको हो । निकैं लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान भएको छ । कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान भएको हो । नगर प्रमुख बासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताए ।