मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तक विमोचित
काठमाडौं । अर्थशास्त्री विश्लेषक एवं लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्प विकासको अर्थ–राजनीति’ बजारमा आएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवं त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवं समकालीन अर्थतन्त्र र विकासको अवस्था बुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता एवं अर्थशास्त्री डा. कल्पना खनालले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
कार्कीको यो पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू, न्यून उत्पादकत्व, र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विमोचन समारोहमा बोल्दै भने, ‘यो किताब नेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि अमूल्य पाठ्य सामग्री हो ।यसले समस्याको जरो सम्म पुगेर समाधानका वैकल्पिक बाटाहरू प्रस्तुत गरेको छ ।’
अनुसन्धानकर्ता डा.कल्पना खनालले किताबको विश्वव्यापी सान्दर्भिकता बारे प्रकाश पार्दै भनिन्, ‘नेपालको आर्थिक अवस्थालाई विश्व सन्दर्भको आर्थिक–राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गरिएको यो किताबलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रासङ्गिक बनाएको छ ।’
पूर्वमन्त्री सुरेन्द्र पाण्डेले किताबमा विकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगले प्रस्तुत गरिएको बताए ।उनले जोड दिँदै भने, ‘नेपालको विकास प्रक्रियामा देखिएका अवरोधहरू बारे हरेक नागरिकले बुझ्न जरुरी छ, र यो किताब त्यसका लागि एक प्रभावकारी माध्यम बन्नेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले किताबको ऐतिहासिक र समसामयिक विश्लेषणको प्रशंसा गरे ।उनले भने, ‘राणाकाल देखि नै नेपाली अर्थतन्त्रमा देखिएका कमजोरीहरू लाई कार्कीले गहिरो अध्ययनका साथ प्रस्तुत गरेका छन् ।वैकल्पिक अर्थतन्त्रको अवधारणालाई समेत समेटेर उनले आर्थिक लेखनमा महत्वपूर्ण योगदान दिएका छन् ।’
त्यसैगरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीले पुस्तकले नेपालको वर्तमान अर्थराजनीतिको मिहिन विश्लेषण गरेको बताउँदै अर्थतन्त्र र विकासका विषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा जोड दिइन् ।उनले भनिन्, ‘वर्तमान परिस्थितिमा हामीले कसरी उत्कृष्ट नीति र रणनीतितय गर्न सक्छौँभन्ने कुरा बुझ्न यो किताब अत्यन्त उपयोगी छ ।’
कार्यक्रममाबोल्दै जनता समाजवादीपार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पुस्तकले अर्थशास्त्रका निरश कुराहरुलाई साहित्यिक र काब्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गरे । ‘यो पुस्तकले सिंगो नेपालको आर्थिक इतिहास एवम् अर्थतन्त्र र समाजको एतिहासिक चरित्रकै मिहिन विश्लेषण गरेको छ’, उनले भने ।
श्रेष्ठले पुस्तकले वर्तमानमा मुलुकको अल्पविकासका कारणहरु पहिल्याउन सफल भएको तर, त्यसबाट बाहिर निस्कन वा नयाँ अर्थ राजनीतिक गन्तव्यको अन्तरवस्तु र संघीयताको आर्थिक स्वरुपबारे प्रकाशपार्नु पर्ने आवश्यकता समेत औंल्याएका छन् ।

इन्डिगो इन्क प्रकाशन गृहद्वारा प्रकाशित यो पुस्तकको मूल्य ६९९ रुपैया तोकिएको छ । यो मनिकर कार्कीको दोस्रो पुस्तकहो । यस अघि उनको ‘वैकल्पिक अर्थतन्त्र’नामक किताब प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीति का वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो । ‘अर्थदृष्टि’ ले भने नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन् गर्दै मुलुकको अल्पविकासको जटिलताहरू लाई राजनीतिकर सामाजिक सन्दर्भसँग जोडेर अझ व्यापक विश्लेषण प्रस्तुत गरेको छ ।



