३५० करोडको लगानीमा बुटवलमा पहिलो र एक मात्र पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ।बुटवल उपमहानगरपालिका वडा नं.८ सुख्खानगर कुसुम पथ स्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्लेसको व्यवस्थापनमा सञ्चालनमा आएको हो । यो होटल रूपन्देहीको पाँचौं तथा बुटवलको पहिलो पाँचतारे होटल हो। यसअघि भैरहवा, लुम्बिनी र तिलोत्तमामा पाँचतारे होटल सञ्चालनमा आइसकेको भए पनि बुटवलमा भने यो पहिलो हो। होटलले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आजदेखि सभा सम्मेलन तथा बैंक्युट तथा पार्टीहरूका लागि खुला गरिएको गरेको र नोभेम्बरदेखि २४ मा पूर्ण रुपमा संचालनमा आउने छ ।२५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी रहेको होटलका अध्यक्ष अध्यक्ष चुन्नुप्रसाद पौडेलले बताए।
नेपाल भारत सिमानाका बेलहियाबाट २८ किलोमीटर र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि २५ किलोमिटरको दुरीमा पुग्न सकिने र होटलको अगाडि बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले बुटवलमा आउने पर्यटकहरूलाई सहज हुने अध्यक्ष पौडेलले बताए।

जमिनमुनि २ तला पार्किङ र जमिनमाथि १० वटा तलामा ६ श्रेणीका कुल १०९ वटा कोठा रहेका छन्। कोठाहरुलाई स्टयान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एक्जिक्युटिभ सुइट्स र प्रसिडेन्सियल सुइट्स गरी विभाजन गरिएको छ ।
जहाँ एकरातमा २५० जना पाहुना राख्न सकिने छ। ५ हजार ७४६ वर्ग मिटरमा फैलिएको होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङकेट हल, क्यासिनो, स्पा, ४ वटा सेमिनार हल र अन्य सुविधाहरू छन्।
होटलमा ३६ हजार स्क्वायरफूट क्षेत्रफलमा क्यासिनो निर्माणको काम अन्तिम चरणमा पुगेको छ। होटल पूर्ण रूपमा संचालनमा आइपुग्दा ३५० जनालाई रोजगारी प्रदान गर्ने अध्यक्ष पौडेलले जानकारी दिए।
हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल नारायणगढ सडक निर्माण सम्पन्न हुँदा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा होटलले बुटवल क्षेत्रको विकासमा थप टेवा पुर्याउने उनले बताए।
२०७७ सालमा होटल निर्माणको सुरूवात गर्दा २०७९ साल भित्रै सञ्चालनमा ल्याउने गरी सुरू गरिएको भए पनि कोभिड १९ को महामारी र त्यसपछि सुस्त बनेको आर्थिक क्षेत्रको कारण निर्माणमा ढिलाइ भएको पौडेलले बताए।
होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्।
सन् २००६ मा स्थापना भएको हायातले संसारभर ४२० स्थानमा होटलहरू संचालन र व्यवस्थापन गर्दै आएको छ।



