कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाई २०८२ सम्पन्न
२६ मंसिर २०८२ शुक्रबार
गोविन्द आचार्य / कञ्चन — कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कञ्चनको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम आज शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास निर्माण, सेवा सुविधा र सार्वजनिक कार्यक्रमहरूको प्रगति तथा प्रभावकारिताबारे नागरिक समक्ष प्रत्यक्ष जानकारी दिने उद्देश्य सहित सुनुवाई आयोजना गरेको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालले अध्यक्षता गर्नुभएको थियो। सो क्रममा अध्यक्ष ढकालले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सार्वजनिक सुनुवाई जस्तो कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकका सुझावहरूलाई आगामी योजनामा प्राथमिकताका साथ समावेश गरिने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत माधव प्रसाद पोखरेल, उपाध्यक्ष मौसमी थापा मगर, विभिन्न शाखा प्रमुख, शिक्षक, सामाजिक अगुवाहरू तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रमको स्वागत गर्दै शिक्षा शाखा प्रमुख रमेश भुसालले गाउँपालिकामा सञ्चालन भएका शैक्षिक कार्यक्रम चुनौती तथा आगामी योजना बारे संक्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो।
सार्वजनिक सुनुवाईमा विभिन्न वडा र प्रतिष्ठानका प्रतिनिधिले सेवा सुविधा, विकास कार्य, सहकारी, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा प्रश्न र सुझाव राखेका थिए ।
कञ्चन गाउँपालिका वडा नम्बर ३ निवासी श्रीकान्त बसौला, धरोहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्मा, राष्ट्रिय जनमोर्चा पार्टी) कञ्चनका अध्यक्ष लिलाराम खनाल, नेपाली कांग्रेस कञ्चन गाउँपालिका सभापति देवीराम रेग्मी, वडा नं. १ निवासी केजी कुमार पौडेल, वडा नं. ४ थकालीचोक निवासी हिमलाल विश्वकर्मा, कञ्चन गाउँपालिका निवासी मनिराम सापकोटा, थकालीचोक टोल विकास संस्थाका अध्यक्ष नन्द बहादुर खड्काथोकी, वडा नं. १ निवासी दुर्गा बहादुर थापा, वडा नं. १ निवासी दिनेश घिमिरे, वडा नं. ५ निवासी बिष्णु थारुलगाएतले विकासका ठूला तथा साना योजनाको पारदर्शिता, सहकारीको नियमन, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षामा सुधार, स्वास्थ्य सेवाको पहुँच, सडक मर्मत तथा स्थानीय सरोकारका मुद्दा उठाएका थिए। साथै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा देखिएका समस्या, सुधारका उपाय तथा सेवा प्रवाहमा अपनाउनुपर्ने कदमबारे आफ्ना सुझाव तथा गुनासा खुला रूपमा राखेका थिए।
उठाइएका प्रश्नहरूको सम्बन्धित शाखा प्रमुखहरूले आवश्यक स्पष्टीकरण प्रदान गरेका थिए। गाउँपालिकाले पारदर्शिता, उत्तरदायित्व र नागरिक मैत्री सेवा प्रवाहलाई सुदृढ सार्वजनिक सुनुवाईलाई निरन्तरता दिने बताएको छ ।
कञ्चन गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको प्राङ्गणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन कञ्चन गाँउपालिका प्रशासन शाखा प्रमुख गिरीराज अर्यालले गर्नुभएको थियो भने सहजीकरण सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्यले गर्नुभएको थियो।



