spot_img

कञ्चन गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता पौष ९ गते देखि सञ्चालन हुँदै

कञ्चन गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भोलि देखि सञ्चालन हुँदै

गोविन्द आचार्य _०८पौष २०८२

रुपन्देही । कञ्चन गाउँपालिकाले विद्यार्थीहरूको अन्तर्निहित खेलकुद प्रतिभा पहिचान, विकास तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिता यही पौष ९ गते देखि १२ गतेसम्म कञ्चन गाउँपालिका वडा नम्बर ४ स्थित रुद्रपुर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरि ३० वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड लगायत विभिन्न खेल विधाहरू समावेश गरिनेछन्। राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै खेलकुद संस्कृतिको विकास गर्दै विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले खेलकुदलाई शिक्षासँग जोडेर अघि बढाउने नीति लिएको छ। “विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गराउन यस्तो प्रतियोगिता प्रभावकारी हुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो।
प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको गाउँपालिकाले जनाएको छ। खेल अवधिभर विद्यार्थीहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखिने र अभिभावकहरूलाई प्रतियोगिता समाप्त भएपछि विद्यार्थीहरूलाई साँझ सुरक्षित रूपमा घर लैजान अनुरोध गरिएको छ।
कञ्चन गाउँपालिकाले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामार्फत स्थानीय तहमा लुकेका खेलकुद प्रतिभाहरू पहिचान भई आगामी दिनमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन हुने अपेक्षा गरेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर