रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.द्वारा कञ्चनका पत्रकार र र्यापर भिओमाको सम्मान
१६ पौष २०८२ कञ्चन गाँउपालिका

रुपन्देही । कञ्चन गाउँपालिका–३, हरैयामा अवस्थित रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी प्राइभेट लिमिटेडले कञ्चन गाउँपालिकामा क्रियाशील पत्रकारहरू तथा कञ्चनकै माटोमा जन्मिएका चर्चित र्यापर भिओमा (Vyoma) लाई सम्मान गरेको छ।
संस्थाको कार्यालयमा सम्पन्न सम्मान कार्यक्रममा सञ्चार, शिक्षा र सिर्जनशील क्षेत्रमार्फत समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूको कदर गर्दै सम्मान गरिएको हो। कार्यक्रममा सामुदायिक रेडियो कञ्चनका स्टेसन म्यानेजर गोविन्द आचार्य, कञ्चन खबरका सम्पादक जगिलाल थापा र हाम्रो लुम्बिनी खबरका पत्रकार दिनेश घिमिरे लाई सम्मान गरिएको थियो।
सम्मानपछि बोल्दै सामुदायिक रेडियो कञ्चनका स्टेसन म्यानेजर गोविन्द आचार्यले स्थानीय सञ्चारमाध्यम समुदायको आवाज बुलन्द गर्ने माध्यम भएको बताउनुभयो। उहाँले शिक्षा र सञ्चारबीचको सहकार्यले समाजमा चेतना अभिवृद्धि हुने उल्लेख गर्नुभयो।
साथै कार्यक्रममा उहाँले संस्थाप्रति आभार व्यक्त गर्दै भन्नुभयो यो संस्था कञ्चनमा शतप्रतिशत विद्यार्थीहरूलाई जापानमा उच्च शिक्षा अध्ययन गर्न, जापानी भाषा सिक्न र कामदार भिसा मार्फत जापान जाने अवसर प्रदान गरेको बताउनुभयो
उहाँले विद्यार्थीहरूलाई अनुशासित भएर पढ्न आफ्नो र आफ्नो परिवारको सपना पुरा गर्न मेहनत गरेर अध्ययन गर्न आग्रह गर्दै त्यसमा शिक्षकहरूले दिनुभएको मार्गदर्शनको सम्मान गर्दै अघि बढेमात्र सफलता हासिल गर्न सकिने उल्लेख गर्नुभयो।
त्यसैगरी कञ्चन खबरका सम्पादक जगिलाल थापाले ग्रामीण पत्रकारिता चुनौतीपूर्ण भए पनि सत्य, निष्पक्षता र जनहितलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले यस्ता सम्मान कार्यक्रमले पत्रकारहरूको मनोबल थप मजबुत बनाउने धारणा राख्नुभयो। साथै कञ्चनमा रहेर उद्यमशीलतासँगै समाजमा प्रत्यक्ष लाभ दिने खालका विभिन्न कार्यक्रमहरु समेत यस संस्थाले सञ्चालन गरेको गरेको सुन्दा आफू अत्यन्तै खुसी भएको बताउनु भयो । उहाँले पत्रकारिता पेशाप्रति विश्वास कायम राख्न यस्ता सम्मान कार्यक्रमले मनोबल बढाउने उल्लेख गर्दै रेन्बो एकेडेमी प्रति धन्यवाद व्यक्त गर्नुभयो।
हाम्रो लुम्बिनी खबरका पत्रकार दिनेश घिमिरेले पत्रकारिता समाज रूपान्तरणको आधार भएको बताउँदै रेन्बो एकेडेमीसँग आगामी दिनमा सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उच्च शिक्षाको लागि जापानीज भाषा पढ्दै गरेका विद्यार्थीहरुलाई अति नै ध्यान दिएर आफ्नो पढाइलाई अगाडि बढाउन आग्रह गर्नुभयो। साथै यो संस्थाले आगामी दिनमा पनि यस्तै खालका महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने कुरामा आफू विशेषत रहेको समेत बताउनुभयो।
त्यसैगरी सम्मानित र्यापर भिओमा ले कञ्चनकै माटोबाट आफूले पाएको प्रेरणालाई स्मरण गर्दै स्थानीय स्तरबाट प्राप्त सम्मानले आफ्नो सिर्जनशील यात्रामा थप ऊर्जा दिएको बताउनुभयो।
कार्यक्रमका अवसरमा रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी प्रा.लि.का प्रोप्राइटर तथा म्यानेजिङ डाइरेक्टर समिर ढकालले रेन्बो एकेडेमी शिक्षा मात्र प्रदान गर्ने संस्था नभई विद्यार्थीहरूको भविष्य निर्माणमा समर्पित रहेको बताउनुभयो। उहाँले संस्थाले जापानीज भाषा अध्ययनमा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूलाई जापानमा उच्च शिक्षाका लागि सफलतापूर्वक पठाउँदै आएको उल्लेख गर्नुभयो। जापान अध्ययन इच्छुक विद्यार्थीहरूका लागि गुणस्तरीय भाषा प्रशिक्षण, परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भन्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्थाकी कानुनी सल्लाहकार राधिका चौधरीले गर्नुभएको थियो। सम्मान कार्यक्रम कञ्चन गाउँपालिका–३ स्थित संस्थाको कार्यालयमा सम्पन्न भएको हो। आयोजक संस्थाले शिक्षा, सञ्चार र सिर्जनात्मक क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
साथै यस रेन्बो एकेडेमी एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेडको शाखा कार्यालय सैनामैना स्थित कलौनीबाट पनि विद्यार्थीहरुलाई जापानमा उच्च शिक्षाको लागि पठाउँदै आएको जनाएको छ । उक्त सम्मान कार्यक्रममा एकेडेमीका शिक्षक विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।



