रुपन्देही : प्रगति नमुना माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।
शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई एकसाथ समेट्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणि पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर रहनु भएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा कञ्चन गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख श्री रमेश भुसाल, वडा नं. १ का वडा अध्यक्ष श्री हरि नारायण थारु तथा वडा नं. २ का वडा अध्यक्ष श्री टेक बहादुर गुरुङको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात विद्यालयका पूर्व प्रधानाध्यापक तथा वर्तमान शिक्षक श्री जिवराज पौडेलको स्वागत मन्तव्यबाट गरिएको थियो। त्यसपछि विद्यालयका प्रधानाध्यापक श्री गणेश पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
मन्तव्य कार्यक्रममा विद्यार्थीको तर्फबाट बिन्दु थापाले मन्तव्य राखेकी थिइन्। साथै, विद्यालयका सल्लाहकार ज्ञानेन्द्र कुमार पौडेल तथा सल्लाहकार एवं पूर्व प्रधानाध्यापक हरिलाल शर्माले विद्यालयको शैक्षिक उन्नतिका लागि सुझावात्मक मन्तव्य राख्नुभएको थियो।
प्रगति नमुना माध्यमिक बिद्यालयले कन्चन मा हुने वार्षिक रनिङ शिल्ड लगाएत थुप्रै खेल जित्न सफल भएको छ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडी विद्यार्थीहरूलाई नगद, शैक्षिक सामग्री तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो। यस्तै, SEE (कक्षा १०) र SLC (कक्षा १२) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई जनही रु ८,००० देखि रु १२,००० नगदसहित सम्मान गरिएको थियो।
यसैगरी, खेलकुद प्रशिक्षक, शिक्षक, शिक्षक–अभिभावक संघका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई अझ आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य तथा करातेको काता प्रदर्शन प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्न सफल भयो।
कार्यक्रमको सञ्चालन शिक्षक श्री जित बहादुर पुनले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, पूर्व विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयको वार्षिक उत्सव शैक्षिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको भन्दै सहभागीहरूले विद्यालय–अभिभावक सहकार्यलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्नेमा जोड दिएका थिए । अहिले प्रगति नमुना माध्यमिक बिद्यालयमा सैनामैना कन्चन गैडहवा पालिकाबाट करिव १५ सय बिद्यार्थी अध्यन गर्दछन ।



