spot_img

गैडहवा गाउँपालिकामा विकासको गति: जनप्रतिनिधिको सक्रियता र सेवामुखी प्रशासन

गैडहवा गाउँपालिकामा विकासको गति: जनप्रतिनिधिको सक्रियता र सेवामुखी प्रशासन
रुपन्देही जिल्लाका १० गाउँपालिकामध्ये महत्त्वपूर्ण मानिने गैडहवा गाउँपालिका विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर संगम रहेको क्षेत्र हो। यहाँ विभिन्न समुदायका नागरिकहरू मिलेर बसोबास गर्दै आएका छन्। सामाजिक सद्भाव, कृषि उत्पादन र स्थानीय स्रोत–साधनका कारण पनि यो पालिका लुम्बिनी क्षेत्रकै सम्भावनायुक्त स्थानीय तहका रूपमा चिनिन्छ। पछिल्ला वर्षहरूमा यहाँको विकास गतिविधिले नयाँ गति लिएको स्थानीयवासीहरूको भनाइ छ। विशेषगरी २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूको सक्रियता र योजनाबद्ध कार्यले पालिकाको समग्र विकासमा सकारात्मक प्रभाव परेको बताइन्छ।

२०७९ सालमा निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जनताको सेवा र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ। उहाँका अनुसार जनप्रतिनिधि भनेको जनताको विश्वासको प्रतिनिधि भएकाले समस्या परेको स्थानमा आफै पुगेर समाधान खोज्नु आफ्नो जिम्मेवारी भएको उहाँले बताउनुहुन्छ।
अध्यक्ष पौडेलले भन्नुभयो, “जनताको समस्या सुन्ने र समाधान गर्ने काम जनप्रतिनिधिको पहिलो कर्तव्य हो। जहाँ समस्या हुन्छ, म सकेसम्म स्वयं पुग्ने प्रयास गर्छु। जनताको सेवा गर्न पाउनु नै मेरो लागि सबैभन्दा ठूलो सफलता हो।”
उहाँको नेतृत्वमा पालिकाभित्र विभिन्न महत्त्वपूर्ण विकासका कामहरू अगाडि बढेका छन्। शिक्षाको क्षेत्रमा सुधार ल्याउने उद्देश्यले सूर्यपुरा बहुमुखी क्याम्पसलाई थप व्यवस्थित बनाउने पहल गरिएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सूर्यपुरा क्षेत्रमा अस्पताल स्थापना गर्ने योजना अघि बढाइएको छ, जसले स्थानीय नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
यसका साथै खानेपानीको सुविधा विस्तार, धारा निर्माण, सार्वजनिक पार्क निर्माण जस्ता पूर्वाधार विकासका कामहरू पनि गरिएको अध्यक्ष पौडेल बताउनुहुन्छ। पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै गैडहवा तालको व्यवस्थापन र संरक्षणमा विशेष पहल गरिएको छ। ताल वरपरको क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ।
पर्यटन र स्थानीय आय आर्जन बढाउने उद्देश्यले पालिकाभित्र होमस्टे सञ्चालनलाई पनि प्रोत्साहन गरिएको छ। यसले स्थानीय संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गाउँपालिकाभित्र एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ भने वडा नम्बर ९ मा बर्थिङ सेन्टर निर्माण गरी गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अध्यक्ष पौडेलका अनुसार शिक्षा क्षेत्र पनि पालिकाको प्राथमिकतामा परेको छ। विद्यालयका भौतिक संरचना निर्माण र मर्मतसँगै शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। “विद्यालयमा भौतिक पूर्वाधार मात्र होइन, शिक्षण पद्धति सुधार गर्न पनि ध्यान दिएका छौँ,” उहाँले भन्नुभयो।
उहाँले गैडहवा गाउँपालिका लुम्बिनी क्षेत्रकै सम्भावनायुक्त पालिका भएको उल्लेख गर्दै विकासका कामहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपाध्यक्ष माधुरी जैसवाल : “योजना र न्याय सम्पादनमा सक्रिय”


गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले पनि पालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो भूमिका निर्वाह गरिरहेको बताउनुहुन्छ। उहाँका अनुसार स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनका साथै न्याय सम्पादनको काम पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ।
उपाध्यक्ष जैसवालले भन्नुभयो, “गाउँपालिकामा आउने योजना तथा कार्यक्रमहरूलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने प्रयास गरिरहेका छौँ। जनताले अपेक्षा गरेको विकास पूरा गर्नका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्ने हुन्छ।”
उहाँका अनुसार उपाध्यक्षको हैसियतमा स्थानीय तहमा आउने विभिन्न विवाद तथा समस्याहरू समाधान गर्ने काम पनि प्राथमिकतामा राखिएको छ। “न्याय सम्पादनको जिम्मेवारी अन्तर्गत स्थानीयस्तरका विवादहरूलाई सहमतिमा समाधान गर्ने प्रयास गरिरहेका छौँ,” उहाँले बताउनुभयो।
उपाध्यक्ष जैसवालले विकास योजनाको कार्यान्वयनसँगै सामाजिक सद्भाव र सहकार्यलाई पनि महत्त्व दिइएको बताउनुभयो। उहाँले पालिकाभित्रका सबै समुदायको सहभागितामा विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“गैडहवा गाउँपालिका लुम्बिनी क्षेत्रमै विकासको सम्भावना बोकेको पालिका हो। यहाँ कृषि, पर्यटन र शिक्षा क्षेत्रमा ठूलो सम्भावना छ,” उहाँले भन्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने : “सेवाग्राहीका लागि सहज वातावरण”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पालिकाभित्र सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन प्रशासनिक रूपमा विभिन्न सुधार गरिएको बताउनुभयो।
उहाँका अनुसार गाउँपालिकाले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने वातावरण निर्माण गरेको छ। “जनताले आफ्ना काम सहज रूपमा गर्न सकून् भन्ने उद्देश्यले प्रशासनिक प्रक्रिया सरल बनाउने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पालिकाभित्रका विभिन्न क्षेत्रमा सेवा विस्तार भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर काम भइरहेको बताउनुभयो।
“गाउँपालिकामा आउने सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्नेमा हामी सचेत छौँ,” उहाँले भन्नुभयो, “यदि कसैलाई कुनै समस्या वा गुनासो भएमा पालिकामा सम्पर्क गर्न अनुरोध गर्दछु। हामी समाधानका लागि सधैं तयार छौँ।”
उहाँले पालिकाको प्रशासनिक कामकाज पारदर्शी र सेवामुखी बनाउन कर्मचारीहरू पनि सक्रिय रहेको बताउनुभयो।
विकासको सम्भावना बोकेको गैडहवा
गैडहवा गाउँपालिका प्राकृतिक स्रोत, कृषि उत्पादन, सामाजिक विविधता र पर्यटन सम्भावनाले भरिएको क्षेत्र हो। स्थानीय तह गठनपछि विकासका कामहरू विस्तारै गति लिँदै गएको देखिन्छ।
जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायको सहकार्यले पालिकाको समग्र विकासलाई अगाडि बढाउन सहयोग पुगिरहेको स्थानीयवासीहरू बताउँछन्।
लुम्बिनी प्रदेशको महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको यो पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासमा अझ व्यापक काम गर्न सकेमा भविष्यमा नमूना गाउँपालिकाका रूपमा स्थापित हुने सम्भावना देखिन्छ।
गाउँपालिकाका जनप्रतिनिधि र प्रशासनले देखाएको सक्रियता तथा योजनाबद्ध प्रयासले गैडहवा गाउँपालिकालाई विकासको मार्गमा अगाडि बढाउने विश्वास स्थानीयहरूमा बढ्दै गएको छ।

Oplus_131072
Oplus_131072

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर