लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ भएको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार एमआरआई सेवा शुभारम्भ गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिकअस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’ प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । ‘एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ ।’ उनले भने, ‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे । साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ तथा बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले अस्पतालमा विशिष्टिकृत सेवाहरु थप गर्दै लैजानुपर्नेमा जोड दिए । सेवा विशिष्टिकृतका लागि सरकारले आवश्यक भूमिका खेल्ने प्रतिवद्धतासहित उनीहरुले सबै तह र क्षमताका सेवाग्राहीले समान अस्तित्व महशुस गर्नेगरी सेवामा लाग्न यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । कार्यक्रमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित स्रोत र साधानका बाबजुद स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेख्य प्रगति प्राप्त गर्न सक्नुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मेहनत महत्वपूर्ण रहेको उल्लेख गरे । अस्पतालमा विगत लामो समयदेखि करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको बारेमा समेत प्रदेश तथा संघीयसरकाले ठोस योजना ल्याएर समस्या सम्बोधन हुनुपर्ने उनको जोड थियो । अस्पताल बिकास समितिलाई प्राप्त अधिकारहरुको बारेमा थप स्पष्टताको आवश्यकता औल्याउँदै उनले सरकारैपिच्छे फेरिने कार्यविधि, नियुक्ति र खारेजीको श्रृङ्खला अन्त्यु हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले गरेका थिए ।



