लुम्बिनी प्रादेशिक अस्पताल ९० अंकसहित देशकै उत्कृष्ट
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ९० अंक प्राप्त गर्दै लगातार तेस्रो पटक नेपालमै पहिलो स्थान हासिल गरेको छ। ‘सेकेण्डरी बी’ लेभलका अस्पतालहरूबीच गरिएको मूल्याङ्कनमा अस्पतालले गत वर्षको ८९ अंक सुधार गर्दै यस वर्ष उत्कृष्ट नतिजा कायम राखेको हो। यसै मूल्याङ्कनमा भक्तपुर अस्पताल ले पनि समान ९० अंक प्राप्त गरेको छ।
अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा उपलब्ध सेवा, उपकरण, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा खेमबहादुर सारु ले सरकारी अस्पतालप्रति नागरिकको दृष्टिकोण परिवर्तन हुँदै गएको उल्लेख गर्दै सेवाको गुणस्तरलाई जनताले महसुस गर्ने गरी थप सुधार गर्न निर्देशन दिए। उत्कृष्टता कायम राख्नु चुनौतीपूर्ण भएको भन्दै निरन्तर सुधारमा लाग्न आग्रह समेत गरे।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरी ले अस्पतालका सेवा थप विस्तार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवातर्फ अघि बढ्न सुझाव दिए। प्रदेश सरकारले आवश्यक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल ले प्राप्त नतिजालाई अझ सुदृढ बनाउँदै थप सुधारका योजनामा काम भइरहेको बताए। उनले नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
अस्पतालमा एमआरआई सेवा सञ्चालन, गाइनो तर्फ समर्पित अपरेसन थिएटर, डिजिटल भुक्तानी प्रणाली, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी विस्तार, २४सै घण्टा बीमा सेवा तथा सामाजिक सेवा इकाई सञ्चालनजस्ता सेवा विस्तार भएका छन्। साथै वेस्ट म्यानेजमेन्ट सुधारका लागि अटोक्लिप मेसिन प्रयोग र आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन समेत भइरहेको जानकारी दिइयो।
हाल अस्पतालमा ५१ विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान भइरहेको प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिएका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल ९० अंकसहित देशकै उत्कृष्ट
प्रतिक्रिया



